पोखरा– नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले बैंक तथा वित्तीय संस्थामा धितो बन्धक राख्दाको मालपोत शुल्क १० हजारभन्दा बढी नबनाउन माग गरेको छ।
धितो बन्धकको रसिद व्यवसायीकै नाममा काट्नुपर्ने माग पनि महासंघ गण्डकीको छ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको नेतृत्वमा बुधबार गएको प्रतिनिधिमण्डलले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसमक्ष यस्तो माग राखेको हो।
अहिले मालपोत कार्यालयमा धितो बन्धक राख्दा कर्जाको रकम हेरेर दस्तुर तोकिन्छ। महासंघले भने यसरी कर्जाको दस्तुर तोक्नु भनेको सेवा शुल्कभन्दा पनि महँगो भएको र यसले व्यवसायी मर्कामा परेको बताएको छ।
‘अहिले हामीले एक हजारदेखि एक लाख ५० हजारसम्म दस्तुर तिर्दै आएका छौं’, कोइरालाले भने, ‘अझ रमाइलो त के छ भने दस्तुर हामी तिर्छौं तर रसिद बैंकको नाममा काटिन्छ। हामीले तिरेको पैसाको रसिद हामीले नै पाउनुपर्छ हैन भने त्यो दस्तुर बैंकले नै तिर्नुपर्छ।’
ज्ञापनपत्र बुझ्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्योगी÷व्यवसायीको माग जायज भएकाले यसबारे प्रदेश सरकारले गम्भीर भएर सोच्ने बताएका छन्।