काठमाडौं– कोरोना महामारीका कारण व्यापार–व्यवसाय प्रभावित भएको भन्दै सरकारसँग निजी क्षेत्रले आयकर बुझाउने म्याद थप्न आग्रह गरे पनि आन्तरिक राजस्व विभागले भने आयकर समयमा नै बुझाउन ताकेता गरेको छ।
केही दिन अघिमात्र निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर आयकर बुझाउने म्याद थप्न आग्रह गरेको थियो। तर, विभागले भने पुस मसान्तभित्र नै आयकरको अनुमानित विवरण र सो विवरणबापत तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशत रकम पुस मसान्तभित्र नै तिर्न ताकेता गरेको छ।
विभागले सोमबार सूचना जारी गरी आयकरबापतको रकम ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पुगेर बुझाउन भनेको छ। विभागले समयमा नै कर नबुझाए ऐनअनुसार जरिवाना, शुल्क तथा ब्याज लाग्ने पनि जनाएको छ।