काठमाडौं- सरकारले लकडाउन अवधिमा नवीकरण हुन नसकेका प्राइभेट फर्मका लागि आगामी चैतसम्म समय थप गरेकाे छ।
अब वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा लकडाउन अवधि गत चैतदेखि पुस १९ सम्म नवीकरण हुन नसकेका प्राइभेट फर्म आगामी चैत तेस्रो हप्ताभित्र बिना जरिवाना नवीकरण हुनेछन्।
यसका लागि सरकारले १९ पुसमा राजपत्रमा सूचना प्रकाशित गरी तीन महिनाभित्र बिना कुनै जरिवाना नवीकरण गर्ने व्यवस्था गरेको हो।
आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईंले यसअघि म्याद सकिएको ३५ दिनभित्र फर्म नवीकरण नगरेमा तीन दोब्बर जरिवाना लाग्दै आएकोमा चैतदेखि पुससम्म म्याद सकिएका फर्म नवीकरण गर्दा कुनै पनि जरिवाना नलाग्ने जानकारी दिए।
‘यसअघि म्याद सकिएको ३५ दिनभित्र प्राइभेट फर्म नवीकरण नगर्दा तीन दोब्बरसम्म जरिवाना लाग्दै आएको थियो’, उनले भने, ‘गत चैतदेखि पुस १९ सम्म म्याद नाघेका फर्म नवीकरण गर्दा आगामी चैत १९ सम्म जरिवाना लाग्दैन।’
प्राइभेट फर्म नवीकरणमा उक्त व्यवस्था गरेसँगै व्यवसायीलाई राहत पुग्ने सेढाईंले बताए।