काठमाडौं– पर्यटन व्यवसायी श्याममोहन श्रेष्ठको जीवनी पुस्तकमा समेटिएको छ। नेपाल फ्रान्स उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका श्रेष्ठको पुस्तक ‘काठमाडौं–पेरिस–काठमाडौंः बस र रेलयात्रा’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ।
शताब्दीपुरुष सत्यमोहन जोशी, नेपालका लागि फ्रान्सका राजदूत फ्रान्स्वाँ जेभियर लेजर, पूर्वमन्त्री रमेशनाथ पाण्डे, पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, पर्यटन व्यवसायी कर्ण शाक्यलगायतले पुस्तकको सामूहिक विमोचन गरेका छन्।
श्रेष्ठ धुलिखेलस्थित मिराबेल होटलका संस्थापक हुन्। श्रेष्ठले आफ्ना पिताबाट फ्रान्सको चर्चा सुनकै आधारमा आफ्नो मष्तिष्कमा फ्रान्सको चित्र बसेको र सोही कारण कलिलो उमेरमै बस र रेलयात्रा गर्दै जोखिम मोलेरै कसरी फ्रान्स पुगेँ भनेर पुस्तकमा लेखेका छन्। श्रेष्ठका भाइ पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ आफ्नो दाजुले त्यसबेला राम्रो आम्दानी भइरहेको क्यासिनको जागिर छाडेर फ्रान्स जाँदा उनलाई सबैले गाली गरेको स्मरण गर्छन्। लेखक श्रेष्ठ नेपालका लागि एयर फ्रान्सको कन्ट्रि म्यानेजरसमेत भएका थिए।
कार्यक्रममा शताब्दीपुरुष जोशीले हरेक पुस्ताले आफ्नो अनुभव नयाँ पुस्तालाई छाडेर गएमात्र मुलुक समृद्ध र वैभवशाली बन्ने स्मरण गराउँदै नेपाल कमजोर बन्नुमा यो कारण रहेको उल्लेख गरे। उनले विकसित मुलुकको उदाहरण दिँदै अघिल्लो पुस्ताले आफ्नो अनुभव छाडेकै कारण नयाँ पुस्ताले त्यसबाट सिकेर अगाडि बढ्दा मुलुकलाई नै फाइदा पुगेको बताए। श्रेष्ठको पुस्तकले त्यो प्रयास गरेकोमा उनले त्यसबाट सकारात्मक परिणाम निस्कने धारणा राखे।
कार्यक्रममा पूर्वमन्त्री पाण्डे र पर्यटन व्यवसायी शाक्यले श्रेष्ठ सकारात्मक सोच र खुला बिचारकै कारण सफल उद्यमी भएको स्मरण गर्दै उनको पुस्तकले संघर्षशीलहरुका लागि प्रेरणा दिने बताए। पूर्वगभर्नर नेपालले श्रेष्ठले नेपालमा सहरी केबुलकारको विकास गर्न चाहे पनि सरकारी ढिलासुस्तीका कारण सम्भव नभएको बिचार राखे।