चितवन– भरतपुरमा सरकारी कार्यालय, संघसंस्थाहरुले नै पानीको महसुल नतिरेको देखिएको छ।
खानेपानी व्यवस्थापन बोर्डमा दुई करोड ५६ लाख १८ हजार ३५८ महसुल बक्यौता उठ्न बाँकी छ। महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न संघसंस्थादेखि व्यक्तिगत घरसम्म रहेको बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बरालले जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष ०७६–७७ को असारसम्मा एक करोड ३० लाख ४८ हजार महसुल उठाउन बाँकी थियो। चालु आव ०७७–७८ को साढे पाँच महिनामा एक करोड २५ लाख ७० हजार ३५८ थपिएको हो।
पटक–पटक ताकेता गर्दा पनि महसुल तीन अटेरी गरेको उनले बताए। नतिर्नेलाई पटक–पटक पत्राचार गरिराखिएको उनले बताए। ‘रिडरमार्फत जानकारी पनि गराउने गरिएको छ, जति गरे पनि तिर्दैनन्’, उनले भने। अन्तिम विकल्पमका रुपमा आफूहरु खानेपानीको लाइन काट्न बाध्य हुने उनको भनाइ छ।
बोर्डको कार्यक्षेत्र समग्र महानगर हो। तर, बोर्डले भरतपुरको १ देखि १६ सम्म र २२ नं वडामा खानेपानी सुविधा पु¥याएको छ। वडा नं १७ देखि २१ र २३ देखि २९ सम्मका कुनै ठाउँमा उपभोक्ता समितिमार्फत खानेपानी पुगेको छ भने कुनै ठाउँमा पुगेको छैन।
बोर्डले सबै ठाउँमा खानेपानी पु¥याउनका लागि काम गरिरहेको बराल बताउँछन्। यो आर्थिक वर्षमा दुई हजार नयाँ धारा जडान गरिएको उनले बताए। हालसम्म बोर्डका ३० हजार ग्राहक छन्। ३० हजार धारा जडान गरिएका छन्।