पोखरा- पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबार सुरु भएको छ।
महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे। महाधिवेशनअन्तर्गत शनिबार हुने निर्वाचनले संघमा नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
महाधिवेशनको उद्घाटन गर्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षा कोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताए। गण्डकी प्रदेश सरकारले बजेट भाषण मार्फत् कोभिड–१९ को प्रकोपबाट पीडित भएका व्यवसायीको जीवन रक्षाको लागि भन्दै १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष घोषणा गरेको थियो।
‘गण्डकीमा रहेका साना र मझौला व्यवसायलाई लक्ष गरी हामीले यसको (जीवन रक्षा कोषको) कार्यविधि बनाएका छौँ,’ मन्त्री गुरुङले भने, ‘हामी यो कार्यक्रमलाई यो आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौं भने अर्को आर्थिक वर्षमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ।’
उनले जीवन रक्षा कोषलाई प्रभावकारी बनाउन सरोकारवालासँग सहकार्य गरिने प्रतिबद्धता पनि व्यक्त गरे। पारदर्शितालाई कडाइका साथ लागु गर्नुपर्छ भन्ने मान्यताका कारण सो कोष संचालनमा ढिलाइ भएको बताउँदै उनले भने, ‘पारदर्शितालाई कडाइका साथ अघि बढाउँदा तथा सुशासनलाई जोड दिँदा वितरण र अनुदानका काम ढिलो हुँदो रहेछ।’
उनले आर्थिक विकासको लागि राजनीतिक स्थिरता जरुरी भएको स्वीकार्दै संसद विघटन र निर्वाचन घोषणाले केही अन्यौलता थपेको बताए।
अर्को प्रसंगमा उनले संघीय सरकारले पनि कोभिड–१९ को खोप ल्याउने तयारी गरिरहेको र गण्डकी प्रदेश सरकारले पनि यहाँका नागरिकलाई निशुल्क खोपको व्यवस्थाको तयारी थालेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले संसद पुनःस्थापना वा चुनाव नै भए पनि देश आर्थिक रुपले पछि पर्ने अवस्था आउने बताए।
उत्कृष्ट व्यवसायी सम्मान
पोखरा उद्योग वाणिज्य संघले वितवरण गर्ने पोखरा उद्योग वाणिज्य संघ उत्कृष्ट व्यवसायी सम्मान २०७७ बाट विनायक फ्रेस हाउस चिप्लेढुंगा र गण्डकी मेसिनरी प्रोडक्टस् औद्योगिक क्षेत्र सम्मानित भए। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विनायकका कैलाश पालिखे र गण्डकी मेसिनरीका युवराज शर्मालाई सम्मान गरे।
संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेको संयोजकत्व तथा संघका साधारण सदस्य राजेन्द्र बाटाजु, बलभद्र नकर्मी ज्ञानेश्वर श्रेष्ठ सदस्य रहेको मूल्याङ्कन समितिको सिफारिसमा उनीहरु सम्मानित भएका हुन्।
लक्ष्मी विद्यापदक वितरण
लक्ष्मी हाउसद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघबाट संचालित लक्ष्मी विद्यापदकबाट यो वर्ष बीबीएतर्फ ला ग्रान्डी कलेजका डिक्सन लिम्बु र बीबीएसतर्फ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसकी छात्रा सुप्रिया गुरुङ नगद, प्रमाणपत्रसहित सम्मानित भए।