काठमाडौं– प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ।
आज शुक्रबार कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङ्गणमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यूआर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको सुरुवात गरेका छन्।
कार्यक्रममा गभर्नर अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्दै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेकोे बताए।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समयसापेक्ष नविनतम बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले प्रभु बैंकको विश्वसनीय एवं गुणस्तरीय बैंकिङ सेवा उपभोग गरिरहेका कृषक तथा कृषिजन्य उपजहरु खरिद विक्रीमा सहभागी व्यवसायी तथा उपभोक्ताहरुले अब क्यूआर कोड सेवाबाट अझै सहज रुपमा झण्झटमुक्त कारोबार गर्न पाउँदा कारोबारमा पारदर्शिता र सम्बन्धमा आत्मियता बढेकोमा खुशी प्रकट गरे।