धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको लागि गौरीफन्टा नाका छिट्टै खोलिने बताएका छन्।
नेकपाको ओली पक्षले धनगढीमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन पार्टी अध्यक्षसमेत रहेका ओलीले यही जनवरी १४ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गएर गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाका बनाउन प्रस्ताव गर्ने बताए।
पश्चिम सेती जलविद्युत आयोजना बनाउन सरकारले पहल गरिरहेको प्रधानमन्त्री ओलीले बताए। उनले महाकालीमा आफ्नो सरकारले दोधारा चाँदनीमा चार लेनको पुल बनाउने काम अन्तिम चरणमा पु¥याएको दाबी गरे।
बैतडीमा फस्फोरसको खानीसमेत सरकारले पत्ता लगाइसकेको बताउँदै उनले तत्कालै खानी निकाल्ने योजना रहेको आश्वासन दिए।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारले सडक सञ्जाल विस्तारमा समेत लागेको बताउँदै कैलाश मानसरोवर जोड्ने सडकसमेत बनाउने योजना ल्याइरहेको बताए।
प्रधानमन्त्री ओली पार्टीको सुदूरपश्चिमस्तरीय कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्न शुक्रबार धनगढी आएका थिए।