काठमाडौं– कोभिड–१९ का कारण हवाई सेवा प्रभावित हुँदा हवाई सेवा प्रदायक कम्पनीले साढे १७ अर्बभन्दा बढी आम्दानी गुमाएका छन्।
चैतदेखि प्रतिबन्ध लगाइएको हवाई उडान असोजमा मात्र खुलेको थियो। हवाई सेवा प्रभावित हुँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पाँच अर्ब रुपैयाँ आम्दानी गुमाएकाे छ।
यस्तै आन्तरिकतर्फका वायु सेवा प्रदायक कम्पनीले १० अर्ब ६२ करोड रुपैयाँ र हिमालय एयरलाइन्सले दुई अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।
प्राधिकरणले २०२० मार्चदेखि नोभेम्बरसम्म अघिल्लो वर्ष २०१९ को सोही अवधिको तुलनामा आफ्नो आम्दानीमा ८० प्रतिशतले गिरावट आएको जनाएको छ।
सन् २०२० मा कोभिड–१९ का कारण हवाई यात्रुको संख्यामा ठूलो गिरावट आएको छ।
प्राधिकरणका अनुसार आन्तरिकतर्फको हवाई यात्रु संख्या ६४ प्रतिशत र अन्तर्राष्ट्रियतर्फको हवाई यात्रुको संख्यामा ७२ प्रतिशतले गिरावट आएको छ।
सन् २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानतर्फ ३१ लाख ८८ हजार ४७९ यात्रुको आवागमन भएको थियो।
सन् २०२० को नोभेम्बरसम्म १० लाख ३० हजार २९६ यात्रुको आवागमन भएको छ।
सन् २०१९ को तुलनामा २०२० नोभेम्बरसम्मको यात्रु संख्यामा ६४.७३ प्रतिशतले घटेको प्राधिकरणले जनाएको छ।
अन्तर्राष्ट्रिय हवाई यात्रामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर २०२० सम्म १० लाख ३९ हजार ३२२ यात्रुको आवागमन भएको छ।
सन् २०१९ मा विमानस्थलतमा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ३८ हजार ४८२ थियो।
दुई वर्षको तुलना गर्दा नोभेम्बर २०२० सम्मको अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा ७२ प्रतिशतले गिरावट आएको छ।
मार्च २०१९ देखि नोभेम्बर २०१९ र मार्च २०२० देखि नोभेम्बर २०२० सम्मको अवधि तुलना गर्दा अन्तर्राष्ट्रियतर्फको उडानतर्फ ८६ प्रतिशत र आन्तरिकतर्फको ७३ प्रतिशतले यात्रु घटेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।