काठमाडौं– आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले दुई वटा वित्तीय संस्थालाई गाभ्ने भएको छ।
चौतारीले देउराली लघुवित्त वित्तीय संस्था र विपिडब्ल्यू लघुवित्त वित्तीय संस्थालाई गाभ्न लागेको हो।
राष्ट्र बैंकले पुस २२ गते एक आपसमा गाभिनका लागि स्वीकृति दिएको छ।
बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारीले बुटवलमा केन्द्रीय कार्यालय रहेको देउराली र बनेपामा केन्द्रीय कार्यालय रहेको विपिडब्ल्यू लघुवित्त प्राप्ति गर्न लागेको हो।
अध्यक्ष जगतबहादुर पोखरेलका अनुसार आरम्भ चौतारीको कूल शेयरपूँजी रु २६ करोड ३४ लाख ४८ हजार छ।
यस्तै गाभिन लागेको विपिडब्लयूको रु दुई करोड तीन लाख शेयर पूँजी छ भने देउरालीको रु दुई करोड ४० लाख शेयर पूँजी छ।
आरम्भ चौतारीका ४५ जिल्लामा १०७ शाखा छन्। सदस्य संख्या ६८ हजार ४६ छ।
यस्तै देउरालीको आठ जिल्लामा १२ शाखा र विपिडब्ल्यूको पाँच जिल्लामा पाँच शाखा सञ्चालनमा छन्।
रासस