काठमाडौं- नेपालमा सबैभन्दा बढी तलब खानेमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गजेन्द्रकुमार नेगी रहेका छन्।
बैंकहरुले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार तलब र भत्ता गरी एभरेष्ट बैंकका सीईओ नेगीले गत आर्थिक वर्षमा चार करोड ८८ लाख रुपैयाँ बुझेका छन्। एभरेष्ट बैंकमा भारतीय बैंक पञ्जाव नेशनल बैंकको लगानी छ।
त्यस्तै दोस्रो धेरै तलब खानेमा नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे रहेको पाइएको छ। पाण्डेले वार्षिक ३ करोड ६३ लाख ४ हजार रुपैयाँ तलब र भत्ता गरेर बुझेका छन्।
ग्ल्यामरस बैंकरको रुपमा चर्चित बैंकर नविल बैंकका सीईओ अनिल केशरी शाहले भने वार्षिक १ करोड ६२ लाख ३४ हजार रुपैयाँ तलब र भत्ता बुझेका छन्।
शाहको भन्दा धेरै तलब खाने सीईओहरुमा, बैंक अफ काठमाडौंका सीईओ शोभनदेव पन्त (२ करोड ८१ लाख ३ हजार, प्रभु बैंकका सीईओ अशोक शेरचन (२ करोड ५७ लाख ९२ हजार, एनआईसी एसिया बैंकका सीईओ रमेशकुमार न्यौपाने (२ करोड ५० लाख) र माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला (२ करोड २३ लाख) छन्।
निजी बैंकको तुलनामा सरकारी बैंकका सीईओहरुको तलब कम छ। वार्षिक प्रतिवेदनअनुसार कृषि विकास बैंकको सीईओ अनिलकुमार उपाध्यायको वार्षिक तलब ३६ लाख ९१ हजार ६६६, नेपाल बैंकको सीईओ कृष्णबहादुर अधिकारीको तलब ४६ लाख ९६ हजार ३०६ र राष्ट्रिय वाणिज्य बैंकको सीईओ किरणकुमार श्रेष्ठको तलब ४० लाख ६५ हजार छ।
नेपाल राष्ट्र बैंकका गभर्नरको तलब भन्दा धेरै गुणा बढी बैंकका सीईओहरुको तलब भएको भन्दै नेपाल राष्ट्र बैंकले करिब दुई वर्षअघि मासिक ७ वा ८ लाख रुपैयाँ भन्दा बढी नहुने व्यवस्था गर्न खोजेको थियो।
तर वाणिज्य बैंकहरुमा ठूलो 'रिस्क' र धेरै मेहनत हुने भएकोले उनीहरुको तलब उनीहरु आफैँले निर्धारण गर्नुपर्छ भन्ने लविङ बैंकहरुले गरेपछि तलब तोक्ने व्यवस्था गरिएको थिएन।
पटकपटक सीईओहरुले लिने पारिश्रमिकबारे चर्चा हुने गरेको छ। करिब एक वर्षअघि पनि संसदको अर्थ समितिमा सीईओहरुको तलबको विषयमा चर्चा भएको थियो।
सो समयमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले नेपाल राष्ट्र बैंक र अन्य सरकारी निकायले भन्दा बैंकका कर्मचारीहरुले कम नै तलब लिने गरेको लामो फेहरिस्त नै बुझाएका थिए।
सिभिल बैंक, सेञ्चुरी र स्ट्यान्डर्ड चार्टड बैंकले गत वर्षको वार्षिक विवरण आफ्नो वेबसाइटमा नहालेका कारण ती बैंकका सीईओको तलब खुलेको छैन।
कुन बैंकको सीईओकाे तलब कति ?