काठमाडौं– छिनछिनमा बिजुली जाने (ट्रिपिङ) को समस्या घट्दै गएको विद्युत् प्राधिकरणले जनाएको छ। प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट यस्तो समस्या घटेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका अनुसार बिजुलीको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा ३४७ पल्ट ट्रिपिङ भएको छ। काठमाडौं उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ। गत वर्ष मंसिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो।
प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित–अघोषित रुपमा विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा पोल तथा टान्सफर्मर सार्नुपर्नेलगायत प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुनसक्ने उनको भनाइ छ।
‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा लोडसेडिङ सुरु भयो भनेर डराउनु पर्दैन। प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ,’ उनले भने।
स्थानीय रुपमा माग धान्न नसक्ने अवस्थामा ओभरलोड रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायत काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न काम भइरहेको शाक्यले बताए।
‘सडक विस्तार, खानेपानीको पाइप जडान, पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको छ। गत वर्षको मंसिरमा यी काम गर्न ४९१ पटक विद्युत् आपूर्ति बन्द गरिएकोमा यस वर्ष ३६२ पटकमात्रै गरिएको छ,’ कार्यकारी निर्देशक शाक्यले भने।