शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित : विश्व बैंक

नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित : विश्व बैंक

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं – विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। 

बैंकको मुख्य कार्यालयले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट’ मा निर्यात र पर्यटनमा आश्रित नेपालको अर्थतन्त्र तत्काल पुरानै लयमा फर्कने सम्भावना अत्यन्त न्यून रहेको उल्लेख छ।

बैंकले यस वर्षका लागि ०.६ प्रतिशत मात्र आर्थिक वृद्धि हुने अनुमान गरेकाे हो।

गत आवमा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा सीमित थियो। बैंकले आगामी आवमा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ। 

राष्ट्रिय योजना आयोग र तथ्यांक विभागले गत आर्थिक वर्षको आर्थिक वृद्धिदर औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्।

तर आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सेजनद्वारा प्रकाशित ‘आर्थिक नीति’ मा चालू आवकोे आर्थिक वृद्धि निकै कम हुने उल्लेख गरेका थिए। 

विश्व बैंकले गत आवमा नेपालको आर्थिक वृद्धि अन्य निकायको तुलनामा बढी देखाएको छ। 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आफ्नो प्रतिवेदनमा नेपालको गत आवको आर्थिक वृद्धि ०.०२ प्रतिशत रहेको उल्लेख गरेको थियो। 

विश्व बैंकले सन् २०२१ मा विश्वको आर्थिक वृद्धिद्धर ४ प्रतिशत हुने प्रक्षेपण गरेको छ। 

अर्थतन्त्र पुनरुत्थानको निरन्तरतामा कोरोनाविरुद्धको खोपले महत्त्वपूर्ण भूमिका खेल्ने बैंकको दाबी छ।

बैंकले कोरोना नियन्त्रण भई लगानी विस्तार र आर्थिक क्रियाकलाप बढ्दा आर्थिक वृद्धिदरले गति लिने दाबी गरेको हो। सन् २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर ४.३ प्रतिशत ऋणात्मक रहेको बैंकको अनुमान छ। 

सन् २०२० मा अर्थतन्त्रको विकराल अवस्था अनुमान गरिएभन्दा कम रहेको, विकसित अर्थतन्त्रहरू खुम्चिने क्रम केही सुस्त रहेको र चिनियाँ अर्थतन्त्र मजबुत पुनरुत्थानतर्फ अघि बढ्ेको बैंकको दावी छ। 

बैंकले उदीयमान अर्थतन्त्र र विकासशील देश भने कोभिड–१९बाट सवैभन्दा बढी प्रभावित भएको जनाएको छ। बैंकले विकसित अर्थतन्त्रमध्ये अमेरिकाको अर्थतन्त्र सन् २०२१ मा ३.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ। 

त्यस्तै सन् २०२१ मा जापानको अर्थतन्त्र २.५ प्रतिशत र युरोपेली महासंघको ३.६ प्रतिशतले वृद्धि हुने अनुमान विश्व बैंकको छ। 

बैंकले उदीयमान अर्थतन्त्रमध्ये सन् २०२१ मा चीनको ५ प्रतिशतले र भारतको ३.४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको छ। 

दक्षिण एसियाली देशमा सन् २०२१÷२२ मा नेपाली अर्थतन्त्र २.५ प्रतिशत, भारत ५.४, बंगलादेश ३.४, भुटान २.३, पाकिस्तान २, अफगानिस्तान ३.३, मालदिभ्स ११.५ र श्रीलंका २ प्रतिशतले विस्तार हुने अनुमान छ।

प्रकाशित: Jan 06, 2021| 07:09 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्