काठमाडौं- नेपालको सबैभन्दा ठूलो रकम बराबरको प्राथमिक सेयर (आइपीओ) यही माघ २ गतेदेखि खुल्ने भएकाे छ।
नेपाल पूर्वाधार विकास बैंकले सर्वसाधारणलाई जारी गर्न लागेको ८ अर्ब रुपैयाँ बराबरको ८ करोड लाख कित्ता आइपीओका लागि यही माघ २ गतेदेखि आवेदन दिन सकिने बैंकले जनाएको छ।
गत पुस १० गते नेपाल धितोपत्र बोर्डले आइपीओ जारी गर्न बैंकलाई स्वीकृति दिएको थियो। बैंकले माघको दोस्रो सातामा नै सेयर बाँडफाँड गर्ने तयारी भएको जनाएको छ।
कम्पनीले सर्वसाधरणको लागि ४० प्रतिशत सेयर जारी गर्नेछ। जसमध्ये ०.२ प्रतिशत सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत सामूहिक लगानी कोष कम्पनीहरुको लागि छुट्याइएको छ।
बाँकी ३४.८ प्रतिशत सेयर अर्थात् ६ अर्ब ९६ करोड रुपैयाँको लागि भने सर्वसाधरणले आवेदन दिन सक्नेछन्। आइपीओ जारी भएपछि बैकको चुक्तापुँजी २० अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ।
बैंकमा १० प्रतिशत सरकारको लगानी रहेको छ। बैंक चालू वर्षको पहिलो त्रैमास अनुसार बैंक १८ करोड रुपैयाँ नाफामा छ।