काठमाडौं– क्याटलान क्लब बार्सिलोनाले ला–लिगाको आइतबार राति सम्पन्न खेलमा ह्वेस्काविरुद्ध साँघुरो जित निकालेको छ।
ह्वेस्काको मैदानमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले १–० गोलको साँघुरो जित निकालेको हो।
बार्सिलोनाको जितका लागि फ्रांकी डि जोङले खेलको २७ औं मिनेटमा निर्णायक गोल गरे। लियोनल मेस्सीले दिएको पासको उपयोग गर्दै डि जोङले गोल गरेका थिए।
जितसँगै २८ अंक जोडेको बार्सिलोना शीर्षस्थानको एथ्लेटिको मड्रिडभन्दा १० अंक पछि छ। यता पराजित ह्वेस्का अंकतालिकाको पुछारमा छ।
गएरातिकै अर्को खेलमा पाहुना टिम एथ्लेटिको मड्रिडले अलाभेसविरुद्ध २–१ गोलको जित निकालेको छ।
जितका लागि मार्कोस लिओरेन्ते र लुइस सुआरेजले गोल गरेका थिए। १५ औं चरणको खेलमा १२ जित निकालेको एथ्लेटिको जारी सिजनका उपाधि दाबेदारको रूपमा हेरिएको छ।
उसले भन्दा दुई खेल बढी खेलेको रियल मड्रिड ३६ अंकका साथ दोस्रो स्थानमा छ।