काठमाडौं– नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषमार्फत कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरे पनि अपेक्षित आवेदन परेको छैन।
राष्ट्र बैंंकले कोभिड– १९ बाट प्रभावित उद्योग व्यवसायलाई कम्तीमा ३ र बढीमा ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।
गभर्नर महाप्रसाद अधिकारीका अनुसार उक्त व्यवस्था अन्तर्गत गत असोज मसान्तसम्म पुनर्कर्जाको लागि आवेदन माग भए पनि बैंकहरूबाट निकै कम आवेदन परेको छ।
जानकारहरूका अनुसार बैंकले आफूसँग भएको तरलताको उपयोग गर्नतिर लाग्दा पुनर्कर्जाको लागि आवेदन दिने अवस्था नै आएन।
नेपाल बैंकर्स एसोसिएसनको वार्षिकोत्सवका अवसरमा गभर्नर अधिकारीले भनेका थिए– ‘बैंकहरूले आफ्ना पुनर्कर्जाको लागि प्रोत्साहित गर्नुभन्दा आफूले प्रदान गर्ने कर्जाका लागि नै बढी प्रोत्साहित गरेको पाइएको छ।’
उनले भने, ‘हरेक स्थानीय तहका कम्तीमा पाँचजना ऋणीले पुनर्कर्जा पाउन् भन्ने उद्देश्यका साथ पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थाबाट आवेदन माग गरेका थियौं तर सहरी क्षेत्रका बैंकका शाखाबाट मात्र आवेदन परेको छ।’
आफ्नै स्वार्थ
काभ्रेका महेश्वर गुरागाई नबिल बैंकको शाखा कार्यालय धुलिखेलमा राष्ट्र बैंकले प्रदान गर्ने पुनर्कर्जाको लागि आवेदन दिन गएका थिए। उनलाई बैंककी शाखा प्रबन्धक सुदिना रञ्जितले पुनर्कर्जाको लागि लामो समय लाग्ने भएकोले नबिलबाटै प्रदान हुने ऋण लिन आग्रह गरिन्।
महेश्वरको धुलिखेलमा ट्राभल एजेन्सी छ। नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट अतिप्रभावित हुने व्यवसायमा ट्राभल एजेन्सी पनि परेको छ। तर, उनी राष्ट्र बैंकको प्रक्रिया झन्झटिलो हुने भन्दै रञ्जितले भनेअनुसार कर्जा लिने सोचमा छन्।
कतिपय व्यवसायीलाई भने राष्ट्र बैंकले प्रदान गर्ने पुनर्कर्जाको विषयमा जानकारी नै छैन। भएकाहरूलाई पनि नबिलले जस्तै आफ्नै बैंकमा आकर्षित गरेर पठाउने गरेका छन्।
बुटिक व्यवसायी प्रमिला अर्याल पुनर्कर्जाबारे जानकारी नभएको बताउँछिन्। काठमाडौंको कोटेश्वरस्थित प्रमिलाको बुटिक करिब ९ महिना बन्द रह्यो।
उनी राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार कोभिड–१९ को मध्यम प्रभावित व्यवसाय सञ्चालन गर्ने व्यवसायी हुन्।
बैंकहरूसँग पर्याप्त तरलता हुँदा बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जाको लागि खासै ध्यान नदिएको एक बैंकरले बताए।
‘हामीसँग पर्याप्त तरलता छ, लगानी गर्न नसक्दा ‘कष्ट अफ फण्ड’ बढिरहेको अवस्थामा कसरी राष्ट्र बैंकबाट रकम लिएर व्यवसायीलाई दिनु?, उनले भने, ‘हामीले आफूसँग भएको रकमको व्यवस्थापन नै पहिलो प्राथमिकतामा राखेका छौं।’
हाल वाणिज्य बैंकहरूसँग दुई खर्ब बराबरको तरलता छ। त्यस्तै राष्ट्र बैंकसँग ४२ अर्ब ५८ करोड रुपैयाँको कोष छ। यसको ५ गुणासम्म अर्थात् २ खर्ब १२ अर्ब ९० करोड बराबर रकम राष्ट्र बैंकले पुनर्कर्जाको लागि ऋण दिन सक्ने छ।
राष्ट्र बैंकले प्रत्येक स्थानीय तहबाट प्रति शाखा ५ जना ऋणीको आवेदन पर्ने गरी बैंकलाई पुनर्कर्जा प्रदान गर्न निर्देशन दिएको छ।
गत कात्तिक मसान्तसम्ममा राष्ट्र बैंकले ४१ हजार ऋणीको ८१ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जाको आवेदन स्वीकृत गरिसकेको छ। स्वीकृत ऋणीमध्ये ३३ हजार भन्दा कम ऋण भने साना ऋणी अर्थात् १५ लाख रुपैयाँभन्दा कम रकम लिने ऋणीहरूले पुनर्कर्जाको लागि आवेदन भरेका छन्।