बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अस्ट्रेलिया छोडेर गाउँमा कृषिकर्मकी अगुवा बनिन् कुसुम

अस्ट्रेलिया छोडेर गाउँमा कृषिकर्मकी अगुवा बनिन् कुसुम

उच्च शिक्षा हासिल गरेका मानिसले कृषि पेसामा लागे बजारको भाउ बुझ्न, प्राविधिक ज्ञान लिन सजिलो हुने भएकाले व्यावसायिक कृषि पेसामा युवायुवती नै लाग्नुपर्ने हुन्छ।
 |  आइतबार, पुस १९, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

vianetvianet

गंगा पराजुली

पशुपतिनगर– नेपाली युवा रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र बिदेसिन निकै पहल गर्छन्। 

रोजगारीका लागि दैनिकजसो बिदेसिने युवाको लर्को नै लाग्छ। 

इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अस्ट्रेलियाको बसाइ छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल भएकी छन्। 

‘घरपरिवारसँगै बसेर परम्परागत पेसा तथा व्यापार गर्दागर्दै दुई वर्षअघि अस्ट्रेलया गएकी थिएँ’, दाहालले भनिन्, ‘अस्ट्रेलियाको कृषि र पशुपालन फार्म हेरेपछि गाउँमा बाख्रापालन गर्न मन लाग्यो।’ 

अहिले उनी यही व्यवसायमा संलग्न छिन्। त्यस्तै निजी वनमा रुख हुर्काएर पनि बर्सेनि लाखौं आम्दानी गरिरहेकी छन्। 

गाउँमा र आफ्ना साथीको विदेश जाने लर्को लागेको देखेर केही वर्षअघि अस्ट्रेलिया गएको उनी बताउँछिन्। 

दाहालले भनिन्, ‘विदेशमा जत्तिको मेहनत गरे त गाउँमै रोजगारीसँगै आम्दानी पनि मज्जाले गर्न सकिने रहेछ।’ 

उनले विदेशको व्यापार र रोजगारको अवसर हेरेपछि आफूले धेरै कुरा सिकेको बताइन्।  विदेशमा कृषि र पशुपालनमा लाग्नेलाई, सीप, प्राविधिक ज्ञान र सरकारी सहयोग पाएको देखेको उनी बताउँछिन्। 

दाहालले भनिन्, ‘हामीले परम्परागत रुपमा बाख्रापालन गरिराखेको अवस्थामा प्राविधिक ज्ञान लिएर काम गर्दा आम्दानी बढ्छ भन्ने लागेर स्वदेश फर्किएँ।’

उनले नेपाल फर्किएपछि बाख्रापालनको तालिम लिइन्। तालिमपछि  आफ्नो माइतीमा रहेको ५४ रोपनी जग्गा ठेक्का लिएर बाख्राको खोर बनाउने काम सुरु गरिन्। 

अनि माइजोगमाई– ३ स्थित लप्सीबोटेमा बाख्रापालन सुरु भयो।  दुई वर्षअघि स्थापना भएको अन्नपूर्ण कृषि तथा पशुपालन फार्ममा अहिले ६० वटा उन्नत जातका बाख्रा छन्। फार्ममा साधन, बोयर र स्थानीय जातका बाख्रा छन्।
 
दाहालले बाख्रासँगै  स्थानीय जातको कुखुरा पनि पालेकी छन्।  इलाम पर्यटकीय जिल्ला भएकाले आन्तरिक पर्यटकको पनि घुइँचो लाग्छ। 

यी स्थानीय जातका कुखुरा आन्तरिक पर्यटकका लागि नै खपत हुने गरेको र अधिकांश कुखुरा घरबाटै बिक्री हुने गरेको उनी बताउँछिन्। 

‘विदेशमा बसेर गर्ने दुःख नेपालमै गरे त रोजगारीसँगै आम्दानी बढ्ने रहेछ’, दाहालले भनिन्, ‘जग्गामा राम्रो उत्पादन हुने र घाँस प्रशस्त हुँदै आएको बारीमा चिया, अकबरे खोर्सानी र खोर बनाएर बाख्रापालन गरिएको छ।’
 
दाहालले चुलाचौकाको काम भ्याएर भए पनि कृषि पेसा गर्न मन लागेको बताउँछिन्।  घरव्यवहार तथा अरु पनि कार्यभित्रैदेखि लगाव लगाएपछि गर्न सकिँदो रहेछ भन्ने अुनभव आफूले लिएको दाहालको भनाइ छ। 

‘घरगाउँमा सबै कृषि पेशामै छन् विदेशमा पनि कृषिबाट करोडौं आम्दानी गरेको देखेका हामीले आधुनिक तरिकाले कृषि र पशुपालन गर्दा राम्रौ नै आम्दानी हुँदोरहेछ’, उनले बताइन्।’

करिब ५४ रोपनी क्षेत्रफलमा घाँस भएकाले उनलाई बाख्रा पाल्न गाह्रो भएको छैन। घाँस खेर जान नदिन मेसिनबाट कुटी काटेर बाख्रालाई दिने गरिएको छ। 

दाहालको भनाइ छ, ‘आम्दानी पनि राम्रो छ, नाफासँगै सन्तुष्ट पनि छु। फार्ममा गाउँका दुई युवाले रोजगारी पाएका छन्।’ 

व्यवस्थापनका लागि बृहत् योजना बनाउने र लगानी जुटाउने काम भइरहेको भन्दै बिस्तारै खोरसँगै बाख्रा पनि थप्ने योजना रहेको उनले बताइन्। अहिले उनको फार्ममा बाख्राको संख्या वृद्धि गरी ठूलो बनाएर १० जनालाई रोजगारी दिने योजना छ। 

‘प्रदेश एककै नमुना बाख्रा फार्मसँगै उन्नत जातका बाख्राको स्रोत केन्द्रका रुपमा आफ्नो फार्मको विकास गर्नेछ’, उनले भनिन्।   सुरुमा १२ लाख लगानीबाट व्यवसाय थालिएको र अहिले फार्ममा लगानी ३० लाख पुगेको छ। 

यो आर्थिक वर्षको ६ महिनामा बाख्रा बिक्रीबाट रु १५ लाखभन्दा बढी आम्दानी गरेको दाहालको भनाइ छ। ‘पश्चिम नेपालबाट साधन जातको बाख्रा र पूर्वी नेपालको पहाडी जिल्लाबाट बोयर जातको बाख्राको माग उच्च छ’, उनी बताउँछिन्।  

व्यापारमा रमाइरहेको र उच्च शिक्षा हासिल गरेको मान्छेले बाख्रा किन पालेको भने पनि धेरैले गिज्याएको उनको अनुभव छ। तर आफूले हिम्मत नहारी बाख्र्रा र कुखुरापालनसँगै अकबरे खुर्सानीबाट आम्दानी राम्रो गरेको उनले बताइन्। 

दाहालको बुझाइमा उच्च शिक्षा हासिल गरेका मानिसले कृषि पेसामा लागे बजारको भाउ बुझ्न, प्राविधिक ज्ञान लिन सजिलो हुने भएकाले व्यावसायिक कृषि पेसामा युवायुवती नै लाग्नुपर्ने हुन्छ।

 मोबाइलबाटै प्राविधिक ज्ञान र बजारको अवस्था बुझ्न सकिने उनको अनुभव छ। 

‘बाख्राको बजार निकै राम्रो छ’, दाहालले भनिन्, ‘बोयर बाख्रा नयाँ जात भएकाले सबै किसानले फार्मबाटै एक दुईवटा गर्दै खरिद गर्दै आएका छन्।’ 

बोयर बाख्रा प्रतिकिलो एक हजार ५०० देखि तीन हजार ५०० मा बिक्री हुन्छ। 

पश्चिमतिर साधन जातको ब्राखाको माग रहेकाले पूर्वमा बोयर र पश्चिममा साधन जातको बाख्रा बिक्री गर्दै आएको उनले जानकारी दिए। 

कुसुमको बाख्राको फार्मसँगै कुखुरापालन पनि छ। अहिले खोरमा ५०० स्थानीय जातका कुखुरा छन्। कुखुराको बजारको समस्या नरहेको दाहालले सुनाइन्। उनको घरबाटै कुखुरा प्रतिकिलो ६०० रुपैयाँमा मा बिक्री हुँदै आएको छ। 

कुखुरा र बाख्राको प्रशस्त मल हुने भएपछि दाहालले अकबरे खुर्सानीको खेती गर्नुभएको हो। दाहालले दुई रोपनी जमिनमा इलामको अकबरे खुर्सानी खेती गरेकी हुन्।

अकबरे खुर्सानी प्रतिकिलो रु ३०० मा बिक्री हुने गरेको छ। उलने यस वर्ष ८० किलो खोर्सानी बिक्री गरेकी छन्। रासस

प्रकाशित: Jan 03, 2021| 11:25 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्