काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन हुन ४७ दिन बाँकी छ। फाुगन ७ देखि १० गते १४ औं महाधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ।
निर्धारित मितिमा महाधिवेशन गर्न तयारीका लागि समय घर्किसकेको छ। क्रियाशील सदस्यता टुंगो लाग्न सकेको छैन।
यस्तै अन्य दलबाट आएकाहरुको समायोजनमा सहमति जुट्न सकेको छैन।
कांग्रेस नेताहरु कोरोना भाइरस महामारीका कारण कार्यतालिकाअनुसार काम हुन नसकेको दाबी गर्दै आएका छन्।
फागुनमा महाधिवेशन नहुने पक्का भएपछि जेठ १५ गतेसम्मका लागि सार्ने विषयमा अनौपचारिक छलफल पार्टीभित्र भइरहेको थियो।
मंसिर अन्तिम साता नै उपसभापति विमलेन्द्र निधिले सार्वजनिक रुपमै महाविधेशन जेठ १५ गते सार्ने विषयमा छलफल भइरहेको बताएका थिए।
पुस पहिलो साता महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने तयारी कांग्रेसको थियो।
५ गते सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि कांग्रेसभित्र महाधिवेशनको मुद्दा छायामा परेको छ।
संसद् विघटनलाई असंवैधानिक कदम भएको निष्कर्ष निकालेको कांग्रेसले पुस १३ गते एकदिने विरोध प्रदर्शन गरेको छ।
तर, आन्दोलन गर्ने कि निर्वाचनमा होमिने भन्नेमा कांग्रेस अनिर्णीत छ। यही विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक जारी छ। यस्तोमा महाधिवेशन कहिले हुन्छ? चासोको विषय बनेको छ।
जारी केन्द्रीय समिति बैठकको मूल एजेन्डा पनि महाधिवेशन होइन। सोही कारण कांग्रेस महाधिवेशनका बारेमा अलमलमै देखिन्छ।
कांग्रेस केन्द्रीय कार्यसमिति र मातहतका समितिको कार्यकाल गत वर्ष फागुन १९ मै सकिएको छ।
त्यसयता विधानको वैकल्पिक व्यवस्थामा टेकेर म्याद थप्दै समितिलाई वैधानिकता दिइएको छ। म्याद थपेर बढाइएको अवधिसमेत आगामी फागुन १९ गते सकिँदै छ।
विधानको वैकल्पिक व्यवस्थाको समयसीमा सकिए पनि संवैधानिक व्यवस्थाअनुसार भदौसम्म महाधिवेशन सार्न सक्ने विकल्प कांग्रेससँग छ।
अब महाधिवेशन गर्न कांग्रेसको एकमात्रै बाटो संवैधानिक व्यवस्था हो। संवैधानिक व्यवस्थाअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने बाध्यात्मक अवस्था कांग्रेससामु छ।
फागुनमा महाधिवेशन हुन नसक्ने निष्कर्षसहित जेठमा महाधिवेशन सार्न छलफल चरिहेका बेला प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको घोषणा भएपछि महाधिवेशन अन्योलमा परेको छ।
‘अहिले सरकारले संविधानमाथि नांगो नाच नाचेको छ। यस बेला हामीसामु संविधानको रक्षा गर्नुपर्ने दायित्व छ। सँगै पार्टीको अस्तित्व रक्षाका लागि महाधिवेशन गर्नुपर्ने दायित्व पनि छ,’ नेता अर्जुननरसिंह केसी भन्छन्, ‘पार्टीका समितिहरुको चारवर्षे कार्यकाल र थप गरिएको एक वर्ष फागुनमा सकिँदै छ। फागुनमा महाधिवेशन गर्नका लागि तयारी छैन। अब के गर्न सकिन्छ हामी छलफलमै छौं।’
सरकारविरुद्ध आन्दोलन चर्काउने वा निर्वाचनमा जाने भन्ने बारेमै कांग्रेस विभाजित छ। यस्तै आन्दोलन, निर्वाचन र महाधिवेशनबारे कांग्रेस अलमलिएको छ।
पार्टीभित्रका देखिएका विवाद समाधान हुन सकेका छैनन्। केन्द्रीय समितिमा महाधिवेशनबारे छलफल हुने सम्भावना कम छ।
कतिपय नेताहरुले भने महाधिवेशन संगठन सुधारको गर्ने अवसर भएकाले चाँडै कार्यतालिका सार्वजनिक गरेर अघि बढ्नुपर्ने बताउँदै आएका छन्।
पछिल्लो राजनीतिक घटनाक्रमलाई देखाएर महाधिवेशनको तयारी रोकिन नहुने उनीहरुको तर्क छ।
महाधिवेशनबारे अलमल बढिरहेका बेला प्रवक्ता विश्वप्रकाश शर्मा भने महाधिवेशनका विषयमा चाँडै निष्कर्ष निकाल्ने दाबी गर्छन्।
‘स्वाभाविक रुपमा हामी विकसित राजनीतिक घटनाक्रमा केन्द्रित छौं। पार्टीको महाधिवेशन पनि गर्नुपर्नेछ,’ उनले भने, ‘केन्द्रीय समितिको बैठक चलिरहेको छ। बैठकमा महाधिवेशनको एजेन्डा त छैन। तर, केही न केही छलफल हुनेछ र चाँडै निष्कर्ष निकालिनेछ।’