काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड १८ पुसदेखि १४औं वर्षमा प्रवेश गरेको छ।
बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ छ। प्रस्तावित १४ प्रतिशत बोनस पश्चात करिब २१ अर्बभन्दा बढी पुग्ने छ। संचित कोषसमेत गरी प्राथमिक पुँजी २७ अर्ब २४ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ।
योसँगै कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्ने छ।
बैंकका ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउण्टर छ।
त्यस्तै बैंकले एक सीडीएस किलियरिङ काउण्टरसहित २३ राजश्व संकलन केन्द्र, तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिपछि पुँजीमा अभिवृद्धि भइ प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि, बैंकको वित्तीय, मानव–संशाधन, प्राविधिक एवं अन्य क्षमतामा अभिवृद्धि भएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालले महामारीको समयमा व्यवसाय र व्यवसायीलाई विभिन्न किसिमका सहुलियत र छुट दिँदै बैंक व्यवसायीको संकटको सारथी बनेको बताए।
शुभकामना सन्देशमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले मर्जरपछि धेरैजसो सूचकमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र उत्कृष्ट बैंकको रुपमा रहेको बताए।
बैंक छिट्टै ७७ वटै जिल्लामा विस्तार गरिने पनि उनले बताएका छन्।