काठमाडौं– सरकारले आर्थिक वर्ष ०७६–०७७ देखि व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि प्यान नम्बर लिनेको संख्या ह्वात्तै बढ्यो। तर, गएको चैतदेखि फैलिएको कोभिड–१९ महामारीका कारण प्यान नम्बर लिने करदाताको संख्यामा ठूलो गिरावट आएको छ।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले १ हजार रुपैयाँभन्दा बढीको कारोबार प्यान नम्बरमार्फत् हुनुपर्ने व्यवस्था ०७६–०७७ को बजेटमा गरेपछि उक्त आर्थिक वर्षको पहिलो चौमासिकमै करिब साढे ६ लाखले प्यान लिएका थिए। तर, चालू आवको सोही अवधिमा प्यान लिने करदाताको संख्या १ लाख ६३ हजारमात्र छ। कोरोनाका कारण रोजगारी गुमेको र थप रोजगारी सिर्जनामा कमी आएका कारण प्यान नम्बर लिनेको संख्यामा कमी आएको यसलाई अर्थ मन्त्रालयले बताएको छ।
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको चौमासिक बुलेटिनअनुसार कोभिड–१९ महामारीबाट सिर्जित बाधा व्यवधानका कारण नागरिकको आवागमन सहज नहुँदा र नयाँ व्यवसाय तथा रोजगारी सिर्जनामा कमी आएकाले पहिलो चौमासिक अवधिमा स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा कमी आएको हो।
आन्तरिक राजस्व विभागका अनुसार हालसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या २१ लाख ३६ हजार ५८६ जना पुगेको छ। त्यस्तै व्यावसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १४ लाख ३६ हजार ५५५ छ। स्थायी लेखा नम्बर लिनेको कुल संख्या ३५ लाख ७९ हजार ४७७ पुगेको छ।
विभागका अनुसार हालसम्म मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुने करदाताको संख्या भने २ लाख ६९ हजार २७८ पुगेको छ। चालू आवको पहिलो चौमासिकमा थप १३ हजार ३५५ सहित उक्त संख्या पुगेको हो। गत आवको पहिलो चौमासिकमा भ्याटमा दर्ता हुनेको संख्या २३ हजार ९१५ थियो।
त्यस्तै गत आर्थिक वर्षको पहिलो चौमासिकमा अन्तःशुल्कमा दर्ता हुनेको संख्या १४ हजार ४३२ रहेकोमा चालू आवमा ६ हजार ९०५ व्यवसाय रहेको विभागको तथ्यांक छ। चालू आवमा करमा दर्ता हुने करदाताको संख्यामा कमी आए पनि करको दायरा विस्तार भइरहेको अर्थ मन्त्रालयले बताएको छ।