काठमाडौं– ट्रिटन इन्टरनेसनल कलेज, शुभश्री कलेज र एफवन सफ्ट इन्टरनेसनलबीच विद्यार्थीको सीप विकास र रोजगार सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा दुवै कलेजका प्रबन्ध निर्देशक तरुणप्रताप शाह र एफवन सफ्टका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार एफवन सफ्ट र उसका सहायक कम्पनीहरूमा ट्रिटन र शुभश्री कलेजका विद्यार्थीले स्थलगत भ्रमण, अवलोकन कक्षा, इन्टर्नसिपलगायतका शैक्षिक क्रियाकलापको अवसर पाउनेछन्।
एफवन सफ्टअन्तर्गतका ईसेवा, फोन–पे, ईसेवा मनी ट्रान्सफर, सिरान टेक्नोलोजीलगायत कम्पनीमा दुवै कलेजका विद्यार्थीले रोजगारीको अवसरसमेत पाउने सम्झौतामा उल्लेख छ।
ट्रिटन र शुभश्री कलेजका कार्यक्रममा एफवन सफ्टको ब्रान्ड प्रवद्र्धन पनि गरिनेछ।
काठमाडौंको सुविधानगर तीनकुनेस्थित ट्रिटन इन्टरनेसनल कलेजमा कक्षा ११ र १२ का साथै स्नातक तहमा बीएसडब्ल्यू, बीसीए, बीबीएस र स्नातकोत्तर तहको एमबीएस अध्यापन हुन्छ।
त्यसैगरी बीएचएम र बीबीए अध्यापन हुने नयाँ बानेश्वरस्थित शुभश्री कलेजले बीसीआईएस र एमबीए कक्षा पनि चाँडै सञ्चालन गर्दै छ।