आइतबार, वैशाख ७, २०८२

को बन्ला बिमा समितिको अध्यक्ष, यी हुन् आकांक्षी

बिमा समिति १९ निर्जीवन बिमा कम्पनी, २० वटा बिमा कम्पनी र एक पुनर्बिमा कम्पनीको नियामक निकाय हो। समितिलाई आर्थिक क्षेत्रमा राष्ट्र बैंकपछिको शक्तिशाली निकाय मानिन्छ।
 |  शुक्रबार, पुस १७, २०७७
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, पुस १७, २०७७

vianetvianet

काठमाडौं–  बिमा समितिको अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिँदै छ। समिति अध्यक्षमा नियुक्ति पाउन विभिन्न व्यक्तिहरू दौडधुपमा छन्।  

triton college

अध्यक्ष चापागाईंको चारवर्षे कार्यकाल पुस २३ गते सकिँदै छ। उनी १४ गतेदेखि बिदामा बसेका छन्। चापागाईं राष्ट्र बैंकको निर्देशक रहेका बेला चार वर्षअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको पालामा अध्यक्ष नियुक्त भएका थिए।

अध्यक्षमा चापागाईंको नियुक्ति विवादरहित थिएन। सुरुमा पोखरा विश्वविद्यालयका एसोसिएट प्राध्यापक डा. रवीन्द्र घिमिरे नियुक्त भएका थिए। तर माइन्युट हुँदा एकाएक निर्णय परिवर्तन गरी महराले चापागाईंलाई अध्यक्ष बनाएका थिए। 

गुरागाईंको कार्यकालमा तीनवटा निर्जीवन बिमा कम्पनी र १० वटा जीवन बिमा कम्पनीले लाइसेन्स पाएका थिए। चापागाईं पनि विवादमा परेका थिए। उनीविरुद्ध साढे दुई अर्बको भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो।

बिमा समिति १९ निर्जीवन बिमा कम्पनी, २० वटा बिमा कम्पनी र एक पुनर्बिमा कम्पनीको नियामक निकाय हो। समितिलाई आर्थिक क्षेत्रमा राष्ट्र बैंकपछिको शक्तिशाली निकाय मानिन्छ। त्यसैले अध्यक्ष बन्न विभिन्न व्यक्तिहरु लागिपरेका छन्। 

National life insurance

समितिको अध्यक्ष अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने कानुनी प्रावधान छ। यसमा नियुक्ति पाउन योग्यताका साथसाथै राजनीतिक पहुँच पनि उत्तिकै आवश्यक मानिन्छ। कतिपयले यसलाई राजनीतिक नियुक्ति पनि भन्ने गर्छन्।

बिमा क्षेत्रका विश्लेषकहरू भने बिमा क्षेत्रमा दक्ष व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने बताउँछन्।

अध्यक्ष पदका आकांक्षी  

चिन्तामणि शिवाकोटी : राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी दुई महिनापछि अवकाश हँुदै छन्। उनलाई बिमा समितिको अध्यक्ष पद दिने भन्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले महाप्रसाद अधिकारीलाई गभर्नर बनाएका थिए। 

शिवाकोटीले आफू गभर्नरको दाबेदार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष लबिङ गरेका थिए। तर अर्थमन्त्री खतिवडाले शिवाकोटीले कुनै प्रभावशाली संस्थामा नियुक्त गरिने आश्वासन दिएर गभर्नरमा अधिकारीलाई नियुक्त गरेको चर्चा थियो।

पछिल्लो समय डेपुटी गभर्नर शिवाकोटी बिमासम्बन्धी जानकारी संकलनमा व्यस्त छन्। यसका लागि उनले बिमा कम्पनीका पदाधिकारीहरूसँग छलफल तीव्र बनाएको एक बिमा कम्पनीका सीईओले जानकारी दिए। 

महेश गुरागाईं : अध्यक्षका आकांक्षी महेश गुरागाईं नेपाल पुनर्बिमा कम्पनी र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका पूर्वअध्यक्ष हुन्। उनी नेपाल वायुसेवा निगमको अध्यक्ष बन्न चाहेका थिए। तर तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको रोजाइमा पर्न सकेनन्। 

सत्तासीन दलका लागि ठूलो योगदान गरे पनि कुनै मूल्यांकन नभएको गुनासो उनले निकटस्थहरुसँग गर्न थालेका छन्। गुरागाईंलाई अहिलेसम्म कुनै पदमा नियुक्ति पाएका छैनन्।

लगानी बोर्डको सीईओमा पनि उनको चर्चा थियो। तर त्यहाँ पनि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाका कारण उनको नियुक्ति भएन। बिमा समितिको अध्यक्ष बन्न गुरागाईंले विभिन्न शक्ति केन्द्रमा लबिङ गरिरहेको उनी निकट एक चार्टर्ड एकाउन्टेनले बताए। 

रामशरण खरेल : समितिका अर्का दाबेदार हुन् तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाका सल्लाहकार रामशरण खरेल। डा. खतिवडाले गभर्नर हुँदा पनि खरेललाई सल्लाहकार राखेका थिए।

डा. खतिवडाका छोरीज्वाइँ खरेल अहिले राष्ट्र बैंकका निर्देशक छन्। अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको बजेटमा चकलेटमा लागेको कर घटाउँदा खरेलको बढी आलोचना भएको थियो। 

उनलाई समिति अध्यक्ष बनाउन खतिवडा आफै‌ं लागिपरेको चर्चा बिमा क्षेत्रमा छ। खतिवडा अर्थमन्त्री हुँदा खरेलले कर्मचारी सञ्चय कोषको सञ्चालकको जिम्मेवारी पाएका थिए।

हालका अध्यक्ष चापागाईंलाई हटाएर खरेललाई अध्यक्ष बनाउन खतिवडाले धेरै प्रयास गरेका थिए। तर चापागाईंले समिति अध्यक्षबाट राजीनामा नदिएपछि खतिवडा पछि हटेका थिए। 

टंक पनेरू : नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष टंक पनेरू यसअघि नेपाल धितोपत्र बोर्डमा जान चाहेका थिए। तर त्यहाँ तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आफू निकटका भीष्मराज ढुंगानालाई नियुक्त गरेका थिए।

पनेरू पनि अहिले बिमा समितिको अध्यक्ष पद बन्ने दौडधुपमा छन्। 

डा. रवीन्द्र घिमिरे : अघिल्लोपटक समिति अध्यक्षमा नियुक्त पाएर खोसिएका डा. रवीन्द्र घिमिरेको नाम पनि चर्चामा छ। तर उनले अध्यक्ष बन्न कुनै दौडधुप नगरेको बताए। 

समिति अध्यक्षका अन्य आकांक्षीमा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेपाल पुनर्बिमा कम्पनीका संस्थापक सीईओ रमेश लम्सालको पनि नाम चर्चामा छ।

यस्तै राष्ट्रिय बिमा संस्थानका अध्यक्ष गंगाराम कँडेल, बिमा कम्पनीका कार्यकारी निर्देशक श्रीमान् कार्की, नेपाल बिमक संघका पूर्व अध्यक्ष विजय शाहलगायत पनि अध्यक्ष बन्ने दौडधुपमा छन्। 

प्रकाशित: Jan 01, 2021| 07:46 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्