मंगलबार, चैत १०, २०८२

बेनी अस्पतालमा अक्सिजन उत्पादन सुरु 

बेनी अस्पतालले अक्सिजन उत्पादन सुरु गरेपछि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको छ।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

बेनी– जटिल अवस्था र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनका लागि म्याग्दीबाट पोखरा पुग्नुपर्ने  समस्या हटेको छ। 

National life

बेनी अस्पतालले अक्सिजन उत्पादन सुरु गरेपछि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको हो। यसअघि सिलिण्डरमा अक्सिजन भर्न पोखरा पुग्नुपर्ने अवस्था थियो। बेनी अस्पतालका प्रमुख चिकित्सक डा जितेन्द्र कडेलले अक्सिजन प्लान्ट सञ्चालन भएको जानकारी दिए।  

‘श्वासप्रश्वास, आईसीयुमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको छ’, उनले भने, ‘घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत हुन्छ।’

केन्द्रबाट अस्पतालको शय्यामै पाइपलाइनमार्फत अक्सिजन पुर्याउने तयारी गरेको कडेलले बताए। यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख बजेट पठाएको छ। 

प्लान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको प्रमुख डा कडेलले बताए। हाल १० वटासम्म सिलिण्डर भर्ने गरिएको छ । अस्पतालमा अहिले दैनिक २० देखि २५ जना श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउँछन्। 

Laxmi sunrise bank
kumari

हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ। एक पटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ। अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न ६३ लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। 

‘सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष ७५ लाख बजेट पठाएकोमा प्रतिस्पर्धामार्फत ४३ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो’, उनले भने। रघुगङ्गा गाउँपालिकाले दिएको १४ लाख र अस्पतालको एक लाख ४० हजारमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याएको उनले बताए।  

मन्त्रालयको पाँच लाख सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ। धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको  ३० लाखबाट सघन उपचार कक्षमा एउटा भेन्टिलेटर थप गर्ने र एसी जडान गर्ने तयारी भएको कटुवालले बताए।  

विसं ०७२ मा ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले हालै पाँच शय्या क्षमताको सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा ल्याएको थियो। गत साउन महिनादेखि मिर्गौलाको डायलाइसिस सेवा सुरु गरेको अस्पतालले आँखा उपचार कक्षसमेत सञ्चालन गरेको छ।  

प्रकाशित: Dec 30, 2020| 01:57 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्