पोखरा– गण्डकी प्रदेश सभाको विशेष अधिवेशन पुस २१ गतेबाट सुरु हुने भएको छ।
गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी जनता समाजवादी पार्टीले विशेष अधिवेशन माग गरेअनुसार सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन डाकेका हुन्।
संविधानको धारा १८३ को उपधारा ३ बमोजिम मिति ०७७ पुस २१ गते दिनको १ बजे देखि प्रदेशको अधिवेशन पोखरा सभागृहमा बैठक हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
विशेष अधिवेशनमा कोभिडलगायत विषयले प्राथमिकता पाउने भए पनि विधेयक भने पारित हुने छैनन्। कम्तीमा २ र बढीमा ३ दिन अधिवेशन चल्ने प्रदेश सभा सचिवालय सचिव हरिराज पोखरेलले बताए।
दुवै पार्टीका १७ सांसदले हस्ताक्षर गरी प्रदेश प्रमुखको कार्यालयका उपसचिव यामप्रसाद सुवेदीमार्फत प्रदेश प्रमुख अमिक शेरचनलाई विशेष अधिवेशन बोलाउन निवेदन मंसिर ३० गते निवेदन दर्ता गराइएको थियो।