ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा ६ दिनदेखि लागेको डढेलो कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ।
कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा मंगलबार बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।
हेलिकोप्टरको सहायताबाट आगो नियन्त्रण गर्न हिजो सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी छर्किने काम भए पनि प्रभावकारी हुन नसकेको महतले जानकारी दिए।
उनले भने, ‘ठूलो आगोको ज्वालामा हेलिकोप्टरबाट झारेको पानी त पेट्रोल पो बन्दोरहेछ। आगो नियन्त्रण हुनुपर्नेमा झन् ठूलो फैलिँदोरहेछ।’ पाथीभरा मन्दिरको संरचनामा डढेलोले असर नगरेको महतले जानकारी दिए।
सोमबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाँचपटक जोरपोखरीबाट पानी ल्याएर आगो नियन्त्रणको प्रयास गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए। मन्दिर परिसर क्षेत्रका संरचना बचाउन सफल भएको निर्देशक काफ्लेले दावी गरे।
आज बिहान कञ्चनजंघा संरक्षण क्षेत्रमा डढेलो प्रवेश गरेको देखिएपछि फक्ताङलुङ गाउँपालिका ५ तापेथोक बिहानी उपभोत्ता समिति पदाधिकारी र संरक्षण बासिन्दा सोमबारदेखि नै संरक्षण क्षेत्रमा आगो प्रवेश गर्न नदिनका लागि लुकुम्पा सामुदायिक वनमा पुगेर बसेको कञ्चनजंघा संरक्षण क्षेत्र संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।
शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो। अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जंगलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन।
बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जंगल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन्।
जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजंघा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन्।
पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइने गरेको छ। आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ।