काठमाडौं- बेलायतबाट आएका पाँचजना नेपालीमा देखिएको कोरोना भाइरस नयाँ हो होइन भन्ने पत्ता लगाउन स्वाब हङकङ पठाइने भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार नयाँ भाइरस हो वा होइन भनेर पुष्टि गर्न हङकङ प्रयोगशाला पठाउन लागिएको हो। बेलायतबाट आएका पाँचजनामा सोमबार निजी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि थियो।
उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। टेकुले उक्त स्वाब हङकङ पठाउन लागेको हो।
स्वास्थ्य मन्त्रालयले भने बेलायतबाट आएका कुनै पनि नागरिकमा कोरोना पुष्टि भए त्यसको प्रजाति पत्ता लगाउन आधिकारिक प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्ने जनाएको छ।
नेपालमा परीक्षण गर्दै आएको प्रविधिबाट पाेजिटिभ आएकाले यो नयाँ भाइरस नभएको हुन सक्ने स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए। उनका अनुसार लक्षण देखिएको, तर पाेजिटिभ नआएको अवस्था भएमा त्यसलाई नयाँ भाइरस हो कि भनेर शंका गर्ने अवस्थ हुन्थ्यो।
केही हप्ताअघि बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको थियो। यो भाइरस हाल विश्वभर देखिएको कोभिड-१९ भन्दा निकै तीव्र गतिमा फैलिएको बताइएको छ।