२०७५ असार ३० गते एक दैनिकमा ‘आरक्षण खोज्दै कर्णालीबाट इलाम’ शीर्षकको समाचार प्रकाशित भएको थियो।
समाचारमा शिक्षक सेवा आयोगको प्रावि तहमा फाराम भर्न हुम्ला सर्केघाटबाट इलाम पुगेका धर्मलाल बुढाको कथा थियो। उनी इलाममा दुर्गम कोटामा केही बढी संख्या माग भएकाले १६ दिन लगाएर झन्डै ५० हजार खर्च गरी आयोगको फाराम भर्न त्यहाँ पुगेका थिए।
यो समाचारले एकातर्फ सरकारी सेवाप्रति युवा आकर्षण बढेको देखियो। अर्कोतर्फ चरम बेरोजगारीको समस्या र भरपर्दो रोजगारीका सीमित विकल्प हुँदा युवाले पाएको सास्ती छर्लंग भयो।
सरकारी सेवा प्रवेशका सीमित विकल्प मध्यम र निम्न वर्गीय युवाका लागि ठूलो सपना बनेका छन्। त्यस्ता सपना पूरा गर्नैका लागि युवाले आफ्नो भौगोलिक क्षेत्रभन्दा टाढा पुगेर आवेदन दिने गरेका हुन्।
केन्द्रीय तथ्यांक विभागको श्रमशक्ति सर्वेक्षण २०१९ अनुसार देशको बेरोजगारी दर ११.४ प्रतिशत छ। नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या दुई करोड आठ लाख छ। तीमध्ये ८० लाख युवा श्रम बजारमा उपलब्ध छन्।
सरकारी तथ्यांकअनुसार श्रमबजारमा उपलब्धमध्ये ७१ लाखले मात्र रोजगारी पाएका छन् भने नौ लाख बेरोजागर छन्। तर, बर्सेनि श्रम बजारमा भित्रिने करिब पाँच लाख जनससंंख्यालाई आधार मान्ने हो भने नेपालमा बेरोजगारको संख्या योभन्दा कैयौं गुना धेरै भएको अनुमान गरिन्छ।
सरकारी सेवामा थोरै संख्यामा विज्ञापन खुल्दा आवेदन हजारौंको पर्छ। कडा प्रतिस्पर्धा हुने भएकाले तयारी पनि लरतरोले पुग्दैन। लोकसेवा तयारीकै लागि बिहान-बेलुका इन्स्टिच्युट धाउने युवाको बाक्लिँदो जमातले लोकसेवाप्रति आकर्षण बढेजस्तो देखिन्छ। तर अन्य विकल्प नभएकाले कतिपय युवा लोकसेवाको तयारी गर्न विवश छन्।
लोकसेवा सपना जति सुनौलो देखिन्छ, यसलाई पूरा गर्न गरिने संघर्ष पनि उत्तिकै कठिन हुने गर्छ। आयोगको परीक्षालाई उद्देश्य बनाएर सहरको चिसो कोठाभित्र तयारी गरिरहेको युवाको दिनचर्या त्यति सुखद रहँदैन।
आफ्नै उमेरका युवा छतमा घाम ताप्दै सुन्तला र बदाम खाएर भर्चुअल माध्यमबाट मिस वर्ल्डको सुन्दरतामा मन्त्रमुग्ध हुँदै गर्दा लोकसेवा तयारी गर्नेहरू मिस वर्ल्डको नाम घोक्न व्यस्त हुन्छन्।
कुनै भीआईपीको मृत्युको खबर सुन्नासाथ अरू युवा सामाजिक सञ्जालमा श्रद्धाञ्जली र समवेदना लेख्न व्यस्त रहँदा लोकसेवा तयारी गर्नेहरू नोटबुकमा स्वर्गारोहण मिति टिप्न हतारिन्छन्।
घरबाट पठाएको रकम परीक्षा दस्तुर, किताब र अन्य तयारी सामग्री खरिद, तयारी कक्षाको शुल्क र कोठाभाडा तिर्दैमा सकिन्छ। धेरै प्रयास गर्दा पनि लोकसेवाको परीक्षा एकै पटक उत्तीर्ण हुने कुरा भएन।
नतिजाको सूचीमा आफ्नो नाम नदेखेपछि अभिभावकबाट ‘यत्रो पढेर पनि केही गर्न नसकेको’ भनेर असन्तुष्टि व्यक्त हुन्छ। त्यो आत्मग्लानिले उत्तिकै पोलिरहेको हुन्छ। अर्कोतर्फ कसैले ‘हिजोआज के गर्दै छौ?’ भन्ने प्रश्नको उत्तर के दिने भन्ने अन्योल पनि लोकसेवा तयारीमा रहेका युवाको हुन्छ।
विषयवस्तुमा कसरी पोख्त बन्ने, लेखन सीप कसरी तिखार्ने, समसामयिक विषयमा कसरी अध्यावधिक रहने भन्ने कुरामा ध्यान दिँदादिँदै कति साथीका बर्थ डे पार्टी छुट्छन्, कति आफन्तले पढनदास र एकलकाटेको उपनाम दिइसक्छन्।
सरकारी जागिर खाऔंला र बिहे गरौंला भन्ने योजना बुन्दाबुन्दै मन मिलेर बसेका प्रेमसम्बन्ध धरापमा पर्न थाल्छन्। मन मिलेका कतिपयले अरूसँग घरजम गरिसक्छन् भने कतिपय विदेश भास्सिएर दुःखै गरेर भए पनि लोभलाग्दो जीवन बिताउन थालिसकेका हुन्छन्। लोकसेवाको तयारी गर्दागर्दै उमेर बितेपछि आफूले रोजेजस्तो जीवनसाथी पाउन पनि त कठिन हुन्छ।
आफन्त या छरछिमेकमा आफ्नो उमेरका कसैले केही बढी पैसा कमाएको भए त उनीहरूसँग तुलना गरेर असफलको उपमा दिन आफ्नै परिवारका सदस्यसमेत पछि पर्दैनन्।
अर्कोतिर लोकसेवाको कार्यतालिकाबमोजिम आवेदन नखुल्नु, समयमा परीक्षा नहुनु, परीक्षा भए पनि नतिजा प्रकाशनमा विलम्ब हुनुले परीक्षा राम्रो भएर आशावादी रहेका युवामा पनि निराशा छाउन थाल्छ।
थोरै समयको मेहनतमा सफल हुने त थोरै मात्र हुन्छन्। तर ऊर्जाशील समयको झन्डै चारपाँच वर्ष लोकसेवा तयारीमै बिताउँदा सफल हुन नसकेर अन्तिम विकल्पका रुपमा वैदेशिक रोजगारीको सहारा लिनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन।
लोकसेवा आयोग रोजगारीको एउटा विकल्प हो। तर बर्सेनि श्रम बजारमा प्रवेश गर्ने लाखौं शिक्षित बेरोजगारलाई आयोग मात्रले रोजगारी प्रदान गर्न सम्भव छैन। यसको सम्बोधन गर्न निजी क्षेत्र तथा अन्य रोजगारदाताले पनि कामदार छनोट प्रक्रिया विश्वसनीय बनाउनुपर्छ।
अर्को विकल्प स्वरोजगारको विकल्प खोज्नु हो। युवाले पनि स्वरोजगार बन्नतर्फ ध्यान पुर्याउनुपर्ने देखिन्छ। उद्यमशील बन्ने सम्भावना रहँदारहँदै सम्भावनाका ढोका खोल्न नसक्नुको बहाना ‘पुँजी अभाव’ लाई बनाउने गरेको देखिन्छ। तर उद्यम गर्न चाहने हो भने पुँजीको जोहो गर्न सक्ने प्रशस्त ढोका खुला छन्। उद्यमशील बन्न चाहनेका लागि राज्यले प्रमाणपत्र धितोमा राखेर कर्जा दिने व्यवस्था गरिदिएको छ।
‘युथ भिजन २०२५’ ले युवा परिषदको संरचनाबाट कार्यान्वयन हुने गरी युवालाई शैक्षिक तालिम र प्रमाणपत्रका आधारमा सामूहिक जमानीमा बिनाधितो ऋण प्रवाह गर्ने, त्यस्तै युवा स्वरोजगार कोषबाट विपन्न, बेरोजगार, दलित, जनजाति, मधेसी, महिला, मुस्लिम र अपांगता भएका युवालाई बिनाधितो ऋण प्रदान गर्ने व्यवस्था गरेको छ।
एक स्थानीय तह, एक बैंकको अवधारणाबमोजिम हालसम्म ७४७ स्थानीय तहमा ‘क’ वर्गका बैंकका शाखा कार्यालय स्थापना भइसकेका छन्, जसबाट विभिन्न सहुलियतमा उद्यमशील कर्जा लिन सक्छन्। कतै जानकारीको अभावमा तथा कतै व्यावसायिक जोखिम मोल्न नचाहेर पनि युवा उद्यमशील बन्नबाट पछि परिरहेको देखिन्छ।
लोकसेवाको अर्को विकल्प प्राविधिक शिक्षा र सीप विकास हो। सैद्धान्तिक शिक्षाले भन्दा व्यावहारिक शिक्षाले गरिखान सक्ने जनशक्ति उत्पादन गर्छ। प्रमाणपत्रका लागि मात्र उच्च शिक्षा हासिल गर्ने भन्दा पनि रोजगारीको ढोकासम्म पुर्याउन सक्ने प्राविधिक शिक्षा हासिलतर्फ ध्यान दिनुपर्ने देखिन्छ।
विद्यालय तहबाटै विद्यार्थीलाई कुन विषय छनोट गरेर पढ्नसके कस्तो किसिमको रोजगारी पाउन सकिन्छ भन्ने ज्ञान दिनु आवश्यक हुन्छ।
यसले गर्दा एकातर्फ विषय छनोट गर्ने तहसम्म आइपुग्दा विद्यार्थीमा कुन विषय पढ्ने भन्नेबारे अन्योल रहँदैन भने अर्कोतर्फ प्राविधिक विषयको ज्ञानले सजिलोसँग स्वरोजगार बन्न सकिन्छ।
हिजोआज खेलकुद, गीतसंगीत, कला आदि क्षेत्रमा लागेर पनि राम्रोसँग जीविकोपार्जन गरिरहेका उदाहरण हाम्रा अगाडि प्रशस्त देखिन्छन्। अभिभावकको करले मात्र लोकसेवा तयारीलाई एकमात्र विकल्प बनाइरहेका व्यक्तिहरुका लागि यी क्षेत्रहरु रोजगारी सिर्जनाको अर्को विकल्प बन्न सक्छ। त्यसैले लोकसेवालाई एउटा विकल्प मानौं तर अन्य विकल्पको ढोका पनि बन्द नगरौं।