काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएको सत्तारुढ नेकपाको दाहाल नेपाल समूहले आज मंगलबार काठमाडौं उपत्यकामा आमसभा गर्दैछ।
आजको प्रदर्शन र आमसभामा ५० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने उक्त समूहको दाबी छ।
आमसभालाई पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरुले सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विषयमा आमसभाबाटै स्पष्ट पार्ने सो पक्षले जनाएको छ। ओलीले कुन नियतबाट यस्तो कदम चाले र त्यसले देशलाई कति क्षति पुर्याउन सक्छ भन्ने विषयमा पनि आमसभाबाट प्रष्ट पार्ने तयारी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आजको आमसभामा उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरु सहभागी हुने भएका छन्। उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस मध्यान्ह १२ बजे भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुने छ।
टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय सङ्घर्ष समितिले जनाएको छ ।
जुलुसको नेतृत्व स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, वेदुराम भुसाल, अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, योगेशकुमार भट्टराई, पम्फा भुसाल र मुकुन्द न्यौपानेले नेतृत्व गर्ने बताइएको छ।
नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो।
प्रधानमन्त्री ओलीले यही पुस ५ गते संसद् विघटन गरेसँगै सत्तारुढ नेकपा विभाजित भएको छ भने दाहाल नेपाल समूह सडकमा उत्रेको छ।
ओलीको कदम खारेजीको माग गर्दै गत शुक्रबार पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका शीर्ष नेताहरुले सडकमा प्रदर्शन गरेका थिए।