काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण देशैभर न्यूनतम तापक्रम घट्नुका साथै चिसो बढेको छ ।
आज (मंगलबार) काठमाडौं उपत्यकामा यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
बिहान ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.८ डिग्री थियो । १.२ डिग्रीसम्म झरेको काठमाडौंको न्यूनतम तापक्रम त्यसपछि फेरि उकालो लागेको थियो । आज उक्त रेकर्डलाई तोड्दै यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको हो ।
काठमाडौं उपत्यकामा मात्रै नभइ देशैभर चिसो बढेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
आकाशमा बादलको चाप नभएका कारण ह्वात्तै चिसो बढेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार तापक्रम अझै घट्ने र चिसो बढ्ने हुनसक्छ ।
यस्तै आज प्रदेश १ का केही स्थानमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराईका केही स्थानमा विहानीपख लागेको हुस्सु÷कुहिरो मध्यान्हपछि क्रमिक रुपमा सुधार हुँदै जाने छ । काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।