काठमाडौं– साउदी अरबकी चर्चित महिला अधिकारकर्मी लुजैन अल हथलौललाई ५ वर्ष ८ महिनाको जेल सजाय सुनाइएको छ।
बीबीसीका अनुसार उनले त्यहाँ महिलालाई गाडी चलाउने अधिकार दिलाउनका लागि संघर्ष गरेकी थिइन्। महिलाले गाडी चलाउने अधिकार पाउनु केही साताअघि नै उनलाई हिरासतमा लिइएको थियो।
३१ वर्षीया लुजैन पछिल्लो अढाइ वर्षदेखि कडा सुरक्षाबीच जेलमै बन्द छिन्। साउदी अरबसँग दुश्मनी राख्ने संगठनसँग सम्पर्कमा रहेको आरोपमा सन् २०१८ मा उनीसहित अन्य थुप्रै महिला अधिकारकर्मीलाई हिरासतमा लिइएको थियो।
अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरुले बारम्बार उनको रिहाइको माग गर्दै आएका छन्। तर, सोमबार आतंकवादसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठन भएको साउदी अरबको विशेष आपराधिक न्यायालयले लुजैनलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ। राष्ट्रिय सुरक्षामा हानि पुयाएको र विदेशी एजेन्डा अगाडि बढाउन खोजेको आरोप उनीमाथि लगाइएको छ।
सन् २०१४ मा पनि कार चलाएको आरोपमा लुजैन गिरफ्तारीमा परेकी थिइन्। ७३ दिनपछि उनी रिहा भइन्। सँगै महिला अधिकारको मुद्दा पनि चर्कियो र २०१८ मा महिलाले गाडी चलाउने अधिकार पाए।