हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/६३ पछि मुलुकले तय गरेको बाटो सच्याउनुपर्ने बताएका छन्।
आइतबार मकवानपुरको आफ्नो चुनावी क्षेत्रमा राप्रपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले २०६२/६३ को आन्दोलनपछि मुलुकले तय गरेको बाटो त्रुटिपूर्ण रहेको भन्दै सच्याउन जरुरी भएको बताएका हुन्।
थापाले कांग्रेस, कम्युनिस्टको असफलता र अकर्मण्यताले मुलुक समस्यामा परेको भन्दै राप्रपा विकल्प भएको बताए। उनले भने, ‘मुलुकको निकासको लागि कांग्रेस, कम्युनिस्ट होइन जनताले राप्रपा रोज्नुपर्छ।’
सत्ता हाँकिरहेका ठूला दल स्वार्थ, शक्ति र पदको भागबण्डामा रुमलिएर देश बर्बाद भएको पनि थापाको भनाइ थियो।
कार्यक्रममा बोल्दै राप्रपा कार्यसम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमानदारी, निष्ठा र सिद्धान्तप्रतिको प्रतिबद्धताको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘भ्रष्ट र असक्षमलाई विस्थापित गरी राप्रपालाई स्थापित गर्नु अहिलेको आवश्यकता हो।’