भक्तपुर- प्रत्येक वर्ष माघे संक्रान्तिका अवसरमा भक्तपुरमा मनाइने सम्यक महादान पर्व यस वर्ष नहुने भएको छ।
कोरोना महामारीको जोखिमका कारण भक्तपुर नगरपालिकाको पहलमा यस वर्ष स्थगित गरी सम्यक महादान पर्वलाई औपचारिकता मात्र प्रदान गर्न लागेको हो।
सम्यक महादान पर्वका सरोकारवालाहरु र नगरपालिकाबीच आज (सोमबार) बसेको बैठकले यस वर्ष पर्वलाई औपचारिकतामा सीमित गर्ने निर्णय भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।
बैठकमा नगरप्रमुख प्रजापतिले भक्तपुरमा कोरोनाको अवस्था, यसको रोकथामका लागि नगरपालिकाले गरेको प्रयासका बारेमा संक्षिप्त जानकारी दिँदै यस वर्षको सम्यक महादान पर्वलाई स्थगित गर्न आग्रह गरेका थिए।
बैठकमा सहभागी सम्यक महादान पर्वका सरोकारवालाहरुले कोभिडको जोखिमलाई ध्यानमा राखी यस पटकका लागि सम्यक महादान पर्व सामान्य पूजाआजामा सीमित गर्न सहमति जनाएका छन्।
सम्यक महादान पर्वमा भक्तपुरका विभिन्न बहाल र विहारमा रहेका भगवान् गौतम बुद्ध, दीपङ्कर बुद्धहरुलाई दूधपाटीस्थित थथुबही ल्याइन्छ।
त्यहाँ जम्मा गरिएको दीपङ्कर बुद्धलगायत बुद्ध र बौद्धधर्म गुरुहरुलाई स्थानीयवासीले आ–आफ्नो इच्छा र गच्छेअनुसार विभिन्न पकवान्, अन्नलगायत वस्तु दान दिने गर्दछ।
सम्यक महादान भक्तपुरमा प्रत्येक वर्ष, ललितपुरमा हरेक ५ वर्षमा र काठमाडौँमा १२ वर्षमा मनाइने परम्परा छ। रासस