काठमाडौं- हाल दर्जनभन्दा बढी देशमा कोरोनाविरुद्धको खोप लगाउन सुरु भइसकेको छ।
नेपालमा खोप कहिले आउँछ अझै भन्न सकिएको छैन तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको पूर्व तयारी भने थालेको छ।
जसअनुसार सरकारले खोप खरिदका लागि प्रस्तावना तयार गरी ७ वटा देशमा डिप्लोम्याटिक नोट पठाइएको छ। खोपको कुनै पनि समस्या नआओस् भन्नको लागि औषधि ऐन नै जारी भएको छ। औषधि र खोपको प्रयोगसम्बन्धी संहिता पनि पास भइसकेको छ।
यतिबेला मन्त्रालयको मुख्य ध्यान खोपको पूर्वाधारको लागि 'कोल्ड चेन' निर्माणतर्फ छ। किनकी विश्व बजारमा अहिले कोरोनाविरुद्धका तीन किसिमका तामक्रम भएका खोप उत्पादन भएका छन्। एउटा माइनस ७० डिग्री सेल्सियस, अर्को माइनस २० डिग्री सेल्सियस र अर्को २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने।
यीमध्ये २ देखि ८ डिग्री तापक्रममा राख्ने खोप आए नेपालका लागि सजिलो हुने देखिन्छ। यो खोप प्राप्त भएको एक हप्तामा मानिसमा लगाउन सकिने गरी पूर्वाधार तयारी छ।
माइनस २० डिग्री तापक्रममा रहने खोप आएमा पनि लगभग भण्डारणको व्यवस्था मिलाइसकिएको छ। त्यसको लागि २० प्रतिशतलाई पुग्नेगरी पूर्वाधार तयारी अवस्थामा राखिएको छ। निजी र सरकारी तवरबाट यसको व्यवस्था मिलाइएको छ।
तर माइनस ७० डिग्रीवाला खोप आएमा याे खोप कम्तीमा ३ प्रतिशतका लागि भण्डारण गर्न सकिने गरी कोल्डचेनको तयारी गरिएको छ।
कोभिडको भ्याक्सिनको लागि सरकार कोभ्याक्समा आबद्ध भइसकेको छ। नेपालले कोभ्याक्सबाट २० प्रतिशत खोप प्राप्त गर्न सक्छ।
कोभ्याक्सबाट प्राप्त गर्न केही समय लाग्ने भयो भने त्यसभन्दा अगाडि खरिद गरी आम नागरिकलाई निशुल्क खोप दिने तयारी सरकारले गरेको छ। त्यसका लागि जी टू जी मार्फत् खरीद गर्न कुटनीतिक नोट तथा खोप निर्माता कम्पनी र छिमेकका दुई देशसँग भिन्नाभिन्नै रुपमा कुरा गरिरहेका छौं। कोभिड–१९ विरुद्धको खोप आयातका लागि ४८ अर्ब रुपैयाँ आर्थिक सुनिश्चितताका लागि सरकार तयारी अवस्थामा छ।
नेपालको कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् २ करोड १६ लाख मानिसलाई खोप दिने योजनाका साथ खोप प्राप्त गर्नेहरुको प्राथमिकिकरण निर्धारण गरिएको छ।
निजी कम्पनीले खोप खरिद गरी सरकारलाई उपलब्ध गराउने भन्ने विषयमा छलफल भइरहेको छ। जसको लागि प्राविधिक नोट तयार हुँदैछ। एक सातामा यसको निर्णय होला। अहिले तत्कालै गर्नुपर्ने काम भनेको सातवटै प्रदेशमा खोप भण्डारणका लागि वेरहाउसको तयारी गर्नुपर्नेछ।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित कार्यक्रममा सचिव लक्ष्मण अर्यालले दिएकाे जानकारी)