काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय कांग्रेसले मान्ने बताएका छन्।
संसद् विघटनविरुद्ध भक्तपुरमा आयोजित विरोधसभालाई सोमबार सम्बोधन गर्दै देउवाले कांग्रेसले सधैं अदालतको निर्णयलाई मान्दै आएको बताए।
‘प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने कदमलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक भनेका छौं। अहिले यो मुद्दा अदालतमा छ। हाम्रो पार्टी अदालतको निर्णय मान्छ। अदालतलाई कांग्रेसले धम्क्याउने–तर्साउने काम गर्दैन।’
उनले अदालतसँग स्वविवेकीय निर्णय गर्ने अधिकार रहेको भन्दै अदालतको निर्णय कांग्रेसले पर्खने बताए।
‘विचाराधीन मुद्दाका विषयमा हामीले केही बोल्न हुँदैन। फैसला जेसुकै होस्, सरकराले बदमासी गर्ला तर न्यायालयप्रति हाम्रो भरोसा छ। ओलीको असंवैधानिक र अप्रजातिन्त्रक कदमको विरोध कांग्रेसले सधैं गरिरहन्छ।’