काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि कुठाराघात गरेको बताएका छन्।
संसद् विघटनविरुद्ध कांग्रेस नवलपुरले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘अहिले संविधानमाथि कुठाराघात भएको छ। यो असंवैधानिक र लोकतन्त्र विरोधी कदम हो। हामीले संविधानको रक्षा गर्न विरोध गरेका हौं। प्रधानमन्त्रीले जे पनि गर्न पाउँछु भनेजसरी अघि बढ्नुभएको छ। तर संविधानले संसद् विघटन गर्ने अधिकार दिएको छैन।’
उनले विगतका दिनमा सरकार अस्थिर हुँदा काम हुँदैन भनेर नै संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको बताए। ‘संविधानलाई बचाउने हाम्रो कर्तव्य हो,’ उनले भने, ‘त्यसैले अहिले हामी सडकमा आएका छौं।’
उनले कांग्रेसको विरोध प्रदर्शन निर्वाचनको तयारीसमेत भएको बताए। ‘यो प्रदर्शन चुनावको तयारी हो। मैले यसलाई चुनावको तयारी गर्ने अवसरका रुपमा लिएको छ,’ उनले भने, ‘ओलीले वैशाख १७ र २७ गते चुनाव गर्छु भनेका छन्। मलाई विश्वास लाग्दैन, तर हामी प्रेसर गर्नेछौं। जहिले चुनाव होस्, यो हाम्रो तयारी हो।’
उनले सरकारले सपना बाँड्ने बाहेक सिन्कोसमेत भाँच्न नसकेको बताए। ‘दुई तिहाइ सरकारले तीन वर्षमा समृद्ध नेपाल बनाउँछौं भन्यो। तर ओली सरकारले तीन वर्षमा के गरेको छ ? केही काम हुन सकेको छैन। भाँचेको सिन्को पनि उठाउन सकेन। ओलीमा भिजन नै छैन,’ उनले भने, ‘समृद्धि उनीहरुको ओठमा मात्रै छ। जनताको हितको काम केही पनि गरेनन्। कोरोनाको समयमा भ्रष्टाचार गर्नेबाट धेरै आशा गर्न सकिँदैन।’