काठमाडौं– विभाजित नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले कलंकको टीका लगाएर सामन्ती शासकजस्तो बन्न खोजेको आरोप लगाएका छन्।
जनसांस्कृतिक महासंघ नेपालको भेलालाई पेरिसडाँडास्थित पार्टी कार्यालयमा सम्बोधन गर्दै दाहालले देशलाई राजनीतिक संकट ल्याउनेसम्मको हदसम्म ओली गएको बताए।
‘केपी ओली पराजित हुनुभयो। उहाँ कलंकको टीका लगाएर कलंकित हुनुभयो। हाम्रो भने विजयी सुरुवात भएको छ,’ दाहालले भने, ‘हामी संविधान, लोकतन्त्रको पक्षमा सडकमा आएका हौं। यो भनेको हामी जनताको पक्षमा आएका हौं।’
संविधानलाई कुल्चेर, लोकतन्त्रको हत्या गरेर उनले बाजी हारेको भन्दै दाहालले आफूहरु राजनीतिक रुपमा विजयी भएको बताए।
‘पार्टी पद्धति, विधि भन्दा बाहिर गएर चल्न खोज्नेविरुद्ध लडाइँ भएको हो,’ उनले भने, ‘पार्टीभित्रको विवादको विषयलाई लिएर देशमा राजनीतिक संकट ल्याउने अवस्था सिर्जना गर्ने काम भयो।’
सत्यको पक्षमा जनता रहेको भन्दै दाहालले आफूहरुको विजय निश्चित भएकाले चिन्तित नहुन कार्यकर्तालाई आग्रह गरे। ‘जनताको हक अधिकारको पक्षमा, संविधान जोगाउन हामी सडकमा आएका हौं,’ उनले भने, ‘केपी ओलीले फेरि हामीलाई जनतासँग जोडिदिने काम गरे। आफू भने इतिहासमा कलंकित हुने काम गरे।’
केही साथीहरु क्षणिक स्वार्थका लागि ओलीलाई साथ दिएको भन्दै दाहालले अन्तिममा उनीहरु पुनः मूलधारमा नै फर्किने बताए।
संविधानको मर्म र भावनामाथि निर्मम रुपमा प्रहार गरेर संसद् विघटन गरिएको भन्दै दाहालले सम्मानित अदालतले पनि संविधान र कानुनअनुसार नै फैसला गर्नेमा आफू आशावादी रहेको बताए।
‘यो सदनमाथि मात्रैको प्रहार होइन। संसद्को सार्वभौम अधिकार माथि मात्रै होइन। नेपाली जनताको सार्वभौम अधिकारमाथिको पनि ठूलो प्रहार हो,’ उनले भने, ‘केपी ओलीले जुन प्रहार गरेका छन्, यो अनधिकृत प्रहार हो। संविधानले दिँदै नदिएको अधिकार, हुँदै नहुने कुरा प्रयोग गरिएको छ।’
उनले सदन नमरेकाले जनप्रतिनिधि जीवित रहेको भन्दै विघटन त केपी शर्मा ओली नेतृत्वको सरकार भएको बताए। संविधान र लोकतन्त्रमाथि केपी ओलीले प्रहार गरेकाले यो सह्य हुन नसक्ने भन्दै उनले सशक्त संघर्ष गर्नुपर्ने अवस्था आएको बताए।