काठमाडौं– चन्द्रागिरि नगरपालिकाले पिप्लामोड–नागढुङ्गा–सतुङ्गल–कलंकी क्षेत्रमा ५०० सडक बत्ती जडान गर्ने भएको छ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्रको मुख्य सडकमा सडक बत्ती जडानका लागि एक करोड रकम विनियोजन गरेको जानकारी दिए।
गिरीले एक महिनाभित्र पिप्लामोडदेखि नागढुङ्गा हुँदै कलंकीसम्म सडक बत्ती जडान भइसक्ने बताएका छन्।
“गत महिना राजमार्ग क्षेत्रमा ६८ सिसी क्यामरा जडान गरेको छ, आउने एक महिनामा सडक बत्ती जडानको काम सक्छौँ”, नगरप्रमुख गिरीले भने।
नगरपालिकाले केही दिन पहिले ५२ लाख रुपैयाँमा दमकल र १२ लाखमा एम्बुलेन्स खरीद गरेको छ।
त्यस्तै सतुङ्गल–मातातीर्थ–चित्लाङ हुँदै हेटौँडा पुग्ने गणेशमान सिंह मार्गको चन्द्रागिरि नगरपालिकामा ढलानको काम पनि तीव्र गतिमा अगाडि बढाएको नगरपालिकाले जनाएको छ।
रासस