वीरगन्ज– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलको आन्तरिक झगडाले मुलुक दुर्घटना उन्मुख भएको बताएका छन्।
आइतबार पर्साको वीरगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परेको बताएका हुन्।
उनले भने, ‘प्रचण्ड र ओलीको झगडा जनता र देश हितको लागि नभइ भागबन्डा र स्वार्थका लागि भएको हो।’
थापाले वर्तमान समस्या समाधानको लागि व्यक्ति परिवर्तन गरेर मात्रै नहुने भन्दै गलत नीति र बाटो नै बदल्नुपर्नेमा जोड दिएका छन्।
थापाले राप्रपालाई जनताले विश्वास गरे हिन्दू राष्ट्र, राजसंस्था, विकास र समृद्धि दिने दाबी गरे।
राजादेखि विप्लव, कांग्रेस, कम्युनिस्टलगायत सबै दल अट्ने व्यवस्था नै राप्रपाको चाहना भएको उनको भनाइ थियो।
अध्यक्ष थापाले मुलुकले भोग्नु परेको संकट अनि व्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानु पनि उपयुक्त विकल्प भएको बताए।