धनगढी– कञ्चनपुरमा ७१ वर्षीय वृद्धाको हत्या भएको प्रहरीले जनाएको छ। जिल्लाको पुनर्वास नगरपालिका–१ ढक्काकी वृद्धा खण्टी भुलको हत्या भएको प्रहरीले बताएको छ।
आज आइतबार दिउँसो वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा घरभित्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मृतक वृद्धा घरमा एक्लै बस्ने गरेको बताइएको छ। उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको बताइएको छ।
पारिवारिक स्रोतका अनुसार मृतक भुलले नाक, कान र घाँटीमा करिब ३ तोला सुनका गरगहना लगाइराख्ने गरेको र सोही गहना लुट्न हत्या भएको हुनसक्ने आशंका गरिएको छ।