काठमाडौं– संखुवासभाको चैनपुर–४ मैदानेमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ। आइतबार दिउँसो साढे ३ बजेतिर गोली हानाहान भएको हो।
प्रदेश नम्बर १ का डीआईजी ईश्वरबाबु कार्कीले प्रहरीको सर्च अपरेसनका क्रममा विप्लवका कार्यकर्ताले फायर खोलेपछि गोली चलाउनु परेको बताए।
दोहोरो गोली हानाहान भए पनि कुनै मानवीय क्षति भने भएको छैन। गस्तीमा रहेको प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी नवराज मल्लले जानकारी दिए।
‘हाम्रो टोली गस्तीमा रहेको बेला उनीहरुको समूहले गोली चलायो,’ उनले भने,‘त्यसपछि हामीले पनि गोली चलाएका हौं।’
उनका अनुसार प्रहरीले १९ राउण्ड गोली चलाएको छ। प्रहरीले जवाफी कारवाही गरेपछि विप्लव समूहका कार्यकर्ता भागेका थिए। उनीहरुको साथबाट विष्फोटक पदार्थसहितका केही सामानहरु प्रहरीले बरामद गरेको छ।
गोली हानाहान भएपछि उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसअघि पनि मैदानेमा दुई पटक प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भइसकेको छ।