काठमाडौं– नवनियुक्त कृषि तथा पशुपन्क्षी मन्त्री पद्माकुमारी अर्यालले रासायनिक मलको समस्या समाधान गर्न आफू दृढ रहेको बताएकी छन्।
कृषि तथा पशुपन्छी मन्त्रीका रुपमा आज (आइतबार) पदभार ग्रहण गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
मन्त्री अर्यालले मलको समस्या समाधान गर्न सातवटै प्रदेशमा २५/२५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिने बताइन्।
उनले भनिन्, ‘वर्षौदखि किसानले भोग्दै आएको रासायनिक मलको समस्यालाई सदाका लागि हल गर्न दृढ छु। आगामी आर्थिक वर्षदेखि रासायनिक मलको समस्या समाधान गरिनेछ।’
उनले त्यसका लागिसातैवटा प्रदेशमा पच्चिस÷पच्चिस हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिने बताइन्।
कृषिमन्त्री अर्यालले वास्तविक कृषकको सूचीकरण गरी कृषक परिचयपत्र वितरण गर्दै कृषि मन्त्रालयबाट उपलब्ध हुने मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बिमा र कृषि ऋण कृषक परिचयपत्रका आधारमा एकद्वार प्रणालीमार्फत लैजाने कार्यको यही फागुनबाट सुरु गरिने बताइन्।