काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते देशव्यापी रुपमा गरिएको प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।
सभापति देउवाले शनिबार अपिल जारी गर्दै कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा आयोजना गर्न लागेको विरोध प्रदर्शनमा सकृय सहभागिताका लागि अपिल गरेका हुन्।
देउवाले भनेका छन्, 'विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं।'
उनले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको स्पष्ट पारेका छन्।
देउवाले जारी केन्द्रीय कार्यसमितिको बैठकमा विरोध प्रदर्शन गर्ने प्रस्ताव गरेका थिए। उनको प्रस्तावपछि बैठकले १३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।
देउवाले भनेका छन्, 'पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु।'