पार्टी एकता भएन भने अहिलेसम्मका उपलब्धि गुम्छ भनेर ठूलो जोखिम लिएर पार्टी एकताका पक्षमा लागेको थिएँ। तर सफल हुन सकिएन। समान दुरीमा बसेर मैले एकता जोगाउन लागें। तर हामीले पार्टीलाई एक राख्न सकेनौं। देशविदेश तथा नेताहरूकै कारण अहिले यो अवस्था आइपुगेको हो।
म कतै गएको पनि छैन, आएको पनि छैन। हिजो जहाँ थिएँ त्यही छु। मैले दुवै अध्यक्षको आलोचना र कमीकमजोरीलाई केलाउने काम गरेको छु। बाबुराम भट्टराईको बहिर्गमनपछि मैले कुनै गुटबन्दी गरेको छैन। गुटबन्दीले गलत विचारको प्रतिनिधित्व गर्दछ।
दाहालले मलाई सभामुखका लागि प्रस्ताव गर्नुभएको थियो। अग्नि सापकोटाले पनि आग्रह गर्नुभएको थियो।
म विगतदेखि नै पदहरु छोड्दै आएको व्यक्ति हुँ। मेरो एउटा कमजोरी के रह्यो भने मैले कहिल्यै महत्त्वाकांक्षा राखिनँ। म अहिले आफ्नै समीक्षा गर्दै छु।
अब पनि मलाई पदको लोभ छैन। म पार्टी एकताकै पक्षमा छु। तर अरुको ध्यान पदमा ध्यान जाने रहेछ।
म कहिले गुटबन्दीमा लागिनँ। अरु त्यसतर्फ लागे। मैले पार्टीमा पनि त्यही कुरो उठाइरहेको छु। बिडम्बना के भयो भने यो बीचमा बालुवाटारमा मन्त्री खान गयो भनेर प्रचार गरियो।
मैले दुवै अध्यक्षको आलोचना र विरोध गर्दै आएको हुँ। प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि पनि विरोध गरेको हुँ। ओलीलाई दुवै पदबाट हटाउने विषयमा पनि विरोध गरेको हुँ।
स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन नहुँदा पनि ओलीको विरोध गरेकै हुँ। मैले यसबीचमा दुवै अध्यक्षलाई उनीहरुको कमीकमजोरीका बारेमा प्रस्ट पारेको छु। अब विचार समूह बनाउने योजनामा छु।
अस्ति प्रचण्डले फोन गरेर भन्नुभयो, 'मैले तपाईंलाई त्यत्तिकै शंका गरेको रहेछु।' मैले एकअर्को अध्यक्षलाई भेट्दा मैले प्रस्ट रूपमा उनीहरुको कमजोरीबारे भनेको थिएँ।
म अब पनि गुटबन्दी त गर्दिनँ। म मिडियालाई अझ व्यवस्थित बनाएर लैजान खोजिरहेको छु। अब मैले दाहालसित गम्भीर रूपमा कुराकानी गर्ने तयारीमा छ। आज दाहालसित भेट्न जाँदै छु। उहासँग आज गम्भीर रुपमा कुरो गर्दै छु।
अध्यादेश ल्याएपछि राष्ट्रपतिले अन्य दलसित पनि छलफल गर्न सकिन्थ्यो। प्रधानमन्त्रीले पनि संसदीय दलमा छलफल गर्नुपर्थ्यो।
२६ भदौको स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन नभएको कारणले गतिरोध निम्तिएको हो। प्रधानमन्त्री ओलीले कमजोरी गर्नुभएको हो।
पार्टी विभाजन हुनुमा अन्तर्राष्ट्रिय चलखेल पनि बाढीजस्तै भएर आयो। हामीले बचाउन खोजे पनि ठूलो रुपको चलखेल भयो। त्यसलाई हामीले धान्न सकेनौं।
(काठमाडौंको बानेश्वरमा पत्रकारसित गरेकाे कुराकानीमा आधारित)