पोखरा- चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएको छ।
यसको चपेटामा अधिकांश क्षेत्र परेका छन्। यही महामारीको चपेटाले पत्रकारलाई पनि छाडेन। पत्रकारले पनि जागिर गुमाउनुपरेकाे छ।कतिपय बेतलबी बस्न बाध्य भए भने कतिले पाउनुपर्ने तलबका लागि आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना भयो।
अझ संक्रमित पत्रकारमा जागिर गुमाउनुको पीडा त छँदै छ उनीहरुले थप मानसिक समस्या पनि भोगे।
पत्रकार गोविन्द सुवेदीले कोरोना संक्रमणका कारण सबभन्दा बढी मानसिक तनाव भोग्नु परेको बताए।
उनले कोभिड–१९ का बारेमा आममानिसको बुझाइ बढी नकारात्मक भइदिँदा संक्रमितको मनोबल गिर्दै गएको बताए।
असहज परिस्थितिमा सञ्चारमाध्यमले पत्रकारलाई जागिरबाट निकाल्नु र बेतलबी बिदामा राखेर थप मानसिक पीडा दिएको समेत उनको भनाइ छ।
फोटो पत्रकार राधिका कँडेलले मानसिक तनाव भुल्न निद्रा लाग्ने औषधिको सहारासमेत लिनु रेको बताइन्।
‘मानसिक तनावले रातमा निद्रा पर्दैन,’ उनले भनिन्, ‘निद्राको औषधि खानुपरेको छ।’
पत्रकार अमृत सुवेदीले आफ्नो समस्या बिर्सेर अन्य नागरिकका समस्या र पीडाको अवस्थामा कलम चलाइरहेको बताए।
पत्रकार कविता श्रेष्ठले अन्य संक्रमितको मनोबल उच्च राख्न मनोपरामर्शमा जुटेको बताइन्।
अग्रज पत्रकार राजेन्द्र दाहालले कोभिड–१९ ले पत्रकारलाई मनावैज्ञानिक र आर्थिक रूपमा नै गम्भीर असर पारेको र समाचार उत्पादनमा समेत ह्रास आएको बताए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सञ्चारमाध्यम रहे पत्रकार रहने र पत्रकार रहे सञ्चारमाध्यम रहने भएकाले आपसी द्वन्द्व र दूरी घटाएर सँगसँगै अघि बढ्न वातावरणको खाँचो औँल्याए।
पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेलले आत्मविश्वासको साथ आफूले कोरोना परास्त गर्न सफल भएको अनुभव सुनाए। उनले गण्डकीमा ६३ जना पत्रकार कोरोना संक्रमित भएको जानकारी दिए।
संकटमा पत्रकारले जीविकोपार्जनको लागि वैकल्पिक उपायको खोजी गर्न पनि आवश्यक रहेको उनको भनाइ छ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कास्कीमा हालसम्म ३३ जना पत्रकार कोरोना संक्रमित भएको जानकारी दिए।
पत्रकारको कोरोना बिमा महासंघले गरे पनि भुक्तानीमा ढिलाइ भएकोबारे महासंघले पहल गरिरहेको बताए।
उनले बन्दाबन्दीको समयमा पत्रकारको तलब कटौती भएको र बेतलबी बस्नुपरेको विषय बाहिर आए पनि महासंघमा ४–५ वटा मात्र उजुरी परेको बताए।
उनले सो विषयमा सम्बन्धित सञ्चारगृहमा बसेर समस्याको समाधानका लागि पहल भएको बताए।