काठमाडौं– वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ।
नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो। टाउकामा समस्या देखिएपछि उनको शल्यक्रियाको तयारी भइरहेको थियो।
रिमाल भलिबलका उत्कृष्ट प्रशिक्षकमध्येका एक हुन्। उनी विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको समेत प्रशिक्षक रहेका थिए। पछिल्लो समय रिमाल खेलकूद विज्ञान प्रतिष्ठानको निर्देशकका रुपमा कार्यरत थिए।
राज्यले न्यून लगानी गरेको भलिबललाई उकास्न प्रशिक्षक रिमालले गरेको योगदानको भलिबल प्रशिक्षक, पदाधिकारी र खेलाडीले सदैव स्मरण गरिरहने छन्।
पछिल्लो समय सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि प्रशिक्षक रिमालले सातवटै प्रदेशमा भलिबल एकेडेमी स्थापनाको माग राख्दै आएका थिए। खेलाडी काठमाडौंभन्दा बाहिर दुर्गम भेगमा रहेकाले उनीहरुलाई एकेडेमीमा राखेर प्रशिक्षण दिनुपर्छ भन्ने प्रशिक्षक रिमालको मुख्य माग थियो।
प्रशिक्षक रिमालले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकूदमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। राखेपबाट एनआइस कोर्स गरेका रिमाल उत्कृष्ट भएपछि ०४५ सालमा डिप्लोमा कोर्स गर्न भारतको पटियाला गएका थिए।
उनले पाकिस्तानबाट भलिबल प्रशिक्षणको ‘लेभल वान’ तथा बङ्गलादेशबाट ‘लेभल टु’ कोर्स गरेका थिए। रिमालले ०४७ सालमा नेपाली सेनाको केबलजङ्ग गणबाट प्रशिक्षणको शुरुआत गरेका थिए।
श्रीलङ्कामा सम्पन्न १०औँ सागमा महिला टोलीले कास्य पदक प्राप्त गर्दा रिमाल टोलीका सहायक प्रशिक्षक थिए। सन् २०१४ मा नेपालमा भएको आमन्त्रण भलिबल च्याम्पियनशिपमा उनी महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए।
उक्त प्रतियोगितामा उनले ऐतिहासिक रजत पदक दिलाएका थिए। बाह्रौँ सागमा महिला टोलीले कास्य जित्दा पनि रिमाल प्रशिक्षक थिए। उनकै प्रशिक्षणमा महिलाबीच भलिबल टोलीले १३औँ सागमा कास्य पदक प्राप्त गरेको थियो।
राष्ट्रिय खेलकूद परिषद्ले शनिबार बिहान राखेपमा श्रद्धाञ्जलिसभाको आयोजना गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।