सोमबार, भदौ २२, २०८३

महामारीले चिरा पार्दै दाम्पत्य

बेलायतको अग्रणी ल फर्म स्टेवार्टका अनुसार जुलाईदेखि अक्टोबरको तीन महिनामा डिभोर्सबारे सोधपुछ गर्नेको संख्या गत वर्षको सोही अवधिभन्दा ११२ प्रतिशत बढेकोे छ।
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

सात वर्ष लामो दाम्पत्य जीवनपछि सोफी र उनका पतिले सम्बन्ध–विच्छेदको निवेदन दर्ता गराए। कोरोना महामारी सुरु हुनुअघि यो जोडीको सम्बन्ध राम्रै थियो। महामारी लम्बिँदै जाँदा उनीहरूको दाम्पत्य जीवनमा फाटो आयो।

‘म साह्रै तनावमा थिएँ, परिस्थितिको विकास यसरी भइदियो कि हामी केही समयका लागि भए पनि अलग्गिने निर्णय गर्‍यौं,’ बालबालिका उत्थानका क्षेत्रमा कार्यरत सोफी भन्छिन्, ‘तर हामी दुवैले महसुस गरेका छौं, अल्पकालीन भनिएकोे अलग्गिने यो निर्णय नै आखिरमा स्थायी हुन सक्छ।’

सोफीको जस्तो अनुभव बेलायतमा सामान्य बन्दै गएको छ। देशभर सम्बन्ध विच्छेदको निवेदन दिनेको संख्या अकासिँदो छ।

बेलायतको अग्रणी ल फर्म स्टेवार्टका अनुसार जुलाईदेखि अक्टोबरको तीन महिनामा डिभोर्सबारे सोधपुछ गर्नेको संख्या गत वर्षको सोही अवधिभन्दा ११२ प्रतिशत बढेकोे छ।

त्यस्तै, आपसी सम्बन्ध कसरी टुंग्याउने भन्ने विषयमा व्यापक अनलाइन सर्च भएको च्यारिटी सिटिजन्स एडभाइस संस्थाको अनुसन्धानमा देखिएकोे छ।

अमेरिकाको एक कानुनी–सम्झौता सेवा प्रदायक वेबसाइटले हालसालै सम्बन्ध–विच्छेदको करार गर्नेहरूको संख्यामा ३४ प्रतिशले वृद्धि भएको सार्वजनिक गरेको छ। वेबसाइटका अनुसार सम्बन्ध–विच्छेद गर्न चाहनेमध्ये २० प्रतिशत त गत पाँच महिनाभित्र विवाह गरेकाहरू छन्। 

युरोप र अमेरिका मात्रै होइन महामारीको सुरुवाती चरणमा कडा लकडाउन गरिएको चीनमा पनि त्यस्तै अवस्था छ।

उता महामारी नियन्त्रणका लागि लागू मापदण्ड पालना गर्न बाध्य नपारिएको स्विडेनको अवस्था पनि उस्तै छ।

महामारीले हाम्रा आधारभूत सम्बन्ध प्रभावित भइरहेका छन् भन्ने तथ्य अब नौलो रहेन। तर, अधिवक्ता, थेरापिस्ट र प्राज्ञिक व्यक्तिहरुले कोभिड महामारीसँगै बढेको सम्बन्ध–विच्छेदका विभिन्न कारकबारे थप आयाम खुल्दै गएको र यो गति सन् २०२१ मा पनि निरन्तर हुने देखिएको बताएका छन्। 

स्टेवार्ट ल फर्मका कार्ली किन्चका अनुसार सम्बन्ध डगमगाएका दम्पतीका लागि कोरोना महामारी ‘उपयुक्त आँधी’ सरह भएको छ। महामारीका कारण दम्पतीहरु धेरैभन्दा धेरै समय सँगै बिताउन बाध्य भए  र, अरू बेला अन्य गतिविधिले ओझेलमा परेको सम्बन्धको तितोपना यस बेला खुलेर सामुन्ने आइदियो।

सम्बन्ध–विच्छेदका कारण अहिले पनि उस्तै छन्। अहिले पनि म यो वा त्यो कारणले गर्दा ऊसँग खुसी हुन सकेको छैन भन्ने नै हो। तर, महामारीले मानिसलाई घरेलु कामधन्दामा सामान्य अवस्थाभन्दा बढी नै केन्द्रित बनाएको छ। 

बेलायतमा पहिलो चरणको लकडाउन सकिएपछि सम्बन्ध–विच्छेदका निवेदन बढेकोमा किन्चको टोली आश्चर्यमा परेको छैन। विगतमा पनि क्रिसमस वा अन्य लामो बिदामा परिवारले सँगै लामो समय बिताएपछि सम्बन्ध–विच्छेदका घटना बढ्ने गरेका थिए।

‘लकडाउन ती बिदाको निरन्तरता जस्तै थियो। तर महामारीले मानिसलाई आर्थिक र सामाजिक रुपमा चरम दबाबमा पार्‍यो,’ किन्च भन्छिन्।

उनका अनुसार महामारीका बेला देखिएको फरकचाहिँ सम्बन्ध–विच्छेदको माग गर्नेमा महिलाको संख्यामा झन वृद्धि हुनु हो। गत वर्षको यही अवधिमा सम्बन्ध–विच्छेदको माग गर्ने महिलाको संख्या ६० प्रतिशत थियो भने यो वर्ष उक्त आँकडा ७६ प्रतिशत पुगेको छ।

यसले के देखाउँछ भने घरधन्धा र बालबालिकाको स्याहारको काम अझै पनि असमान रुपमा महिलामाथि परिरहेको छ। 

उनी भन्छिन्, ‘धेरै दम्पतीलाई सुरुमा लकडाउनका बेला सँगै समय बिताउन पाउँदा सम्बन्ध झन् राम्रो हुनेछ भन्ने लागेको थियो। कामको चापले गर्दा यात्रामा रहने वा सहरमै व्यस्त रहने आफ्ना पार्टनर लकडाउनका कारण घरै हुँदा आपसी सरसहयोग बढ्नेछ भन्ने ठानिएकोमा त्यसो भएन। असमझदारी झनै बढ्यो।’

सोफी दम्पतीले आपसी सहमतिमा छुट्टिने निर्णय गरे पनि एकअर्काप्रति मित्रवत् रहिरहने बताउँछिन्। उनका अनुसार संक्रमण फैलिएला कि भनेर बेग्लाबेग्लै सुत्नुले पनि छुट्टिनलाई उत्प्रेरित गर्‍यो। किनभने सोफीलाई पहिल्यैदेखि स्वास्थ्य समस्या रहेको हुँदा उनीहरु संंक्रमण फैलनेप्रति बढी नै सचेत थिए। 

तर उनीहरु अलग हुनुको कारण सञ्चार समस्या हो। सोफी भन्छिन्, ‘हामी दुवैलाई एकअर्कासँग झर्को लाग्न थालेको थियो। राम्ररी कुरा गर्न पनि छाडिदिएका थियौं।’

लकडाउनका बेला सोफीलाई घरधन्धाले भ्याइनभ्याइ भयो। छोराको अनलाइन कक्षामा सहयोग गर्नुपर्ने, नातेदारका बच्चाको समेत रेखदेख गर्नुपर्ने जस्ता काम थपिँदा उनको बोझ झन् बढ्यो। उता सोफीका पतिले आफूलाई पत्नी बेवास्ता गरेको ठान्न थाले। 

अन्य दम्पतीहरुको हकमा पनि महामारीका कारण सिर्जित मानसिक समस्याले सम्बन्ध–विच्छेद बढिरहेको छ।

४३ वर्षीया मेरी जो एम्सटर्डड्याममा सम्पादकका रुपमा कार्यरत थिइन्।  उनलाई कोभिड हुँदा उनका पतिको मानसिक तनाव अनियन्त्रित हुन पुग्यो। 

‘एक महिना क्वारेन्टिनमा बस्दा सबै व्यवस्था मैले नै मिलाउनुपर्‍यो,’ मेरी भन्छिन्, ‘त्यो समय मेरा लागि साह्रै अत्यासलाग्दो थियो।’

कोभिड संक्रमणले लामो समय थलिएकी उनलाई आफ्ना दैनिक आवश्यकताका काम मिलाउनै गाह्रो थियो, त्यसमाथि चार वर्षीय बच्चा हेर्नुपर्ने जिम्मेवारी छुट्टै।

‘दुर्भाग्य नै भनौं, हाम्रो सम्बन्धमा धेरै योगदान मैले नै गर्नुपर्ने देखियो। भावनात्मक, मानसिक र शारीरिक सबै योगदान मैले नै बढी गर्नुपर्ने भएपछि छुट्टिने निर्णय गरें। मलाई लाग्यो यो जीवनमरणको सवाल हो,’ मेरी भन्छिन्।

मानवीय सम्बन्धसम्बन्धी विज्ञका अनुसार जुन दम्पतीले महामारी अघि कुनै समस्या व्यहोर्नुपरेको थिएन उनीहरु छुट्टिभिन्न हुनेबारे सोच्न थालेका छन्। युके काउन्सिल अफ साइकोथेरापीका रोनेन स्टिलम्यानका अनुसार  उनीहरुको सुविधाजनक, लयात्मक र स्थायित्वसहितको दैनिक तालिकालाई महामारीले बिथोलिदियो। र जीवनमा पहिलेदेखिको ‘लय’ हराएपछि पार्टनरहरु ‘अन्य खालका सहयोग वा भावनात्मक संलग्नता’ को खोजीमा लागे। 

स्टिलम्यान भन्छन्, ‘धेरै मानिस महामारीपछिको नयाँ अवस्थामा आफूभित्र के भइरहेको हो र एकआपसमा कस्तो खालको सम्बन्ध विकास भइरहेको हो भन्ने द्विविधामै थिचिए। प्रेसर कुकरमा भरिएको बाफ निस्कन नपाएपछि बिर्कोको फुली निस्किएजस्तै दाम्पत्य जीवनमै चिरा पर्‍यो।’

स्टकहोममा बस्ने नोराको स्पेनी केटासँग अघिल्लो वर्ष मात्र घरजम भएको थियो तर महामारीको केही महिनामै उनीहरुको सम्बन्धमा दरार आयो।

नोराका अनुसार उनीहरुले महामारीलाई बढी गम्भीर रुपमा लिए। आरोहणमा रुचि राख्ने उनी र बास्केटबलमा रुचि राख्ने उनका पतिले आफूलाई घरभित्रै सीमित पारे, अत्यावश्यकबाहेकका कुनै पनि काम गरेनन्।

‘घरभित्रै बस्दा हामीबीचको भिन्नता झन् धेरै उजागर भयो। मेरो अन्तरमुखी र उनको बहिर्मुखी स्वभाव। हामीले एकअर्कालाई समन्वय गर्नै सकेनौं। मैले भावनात्मक स्थान खोजिरहेकी थिएँ, उनले धेरै मानिसको साथ चाहिरहेका थिए,’ नोरा भन्छिन्, ‘मैले समस्या समाधानका लागि हरसम्भव प्रयास गरे तर, सफल भइएन।’

अधिवक्ता किन्च भन्छिन्, ‘महामारी युवा जोडीहरुको जीवनमा आएको पहिलो प्रमुख चुनौती हो। यसबाट अमेरिका र क्यानडाका नवविवाहितहरु किन डिभोर्स चाहिरहेका छन् भन्ने कुराको आंशिक संकेत गर्छ।’

कोभिडका कारण सिर्जित आर्थिक दबाबका कारण पनि सम्बन्ध टुट्दै गएकोे छ। मानिस बेरोजगार भएका छन्। बेतलबी बिदामा बस्नुपरेको छ। तलब पाउनेले पनि पूरा पाउन सकेका छैनन्।

‘दोस्रो विश्वयुद्धपछि यति धेरै सम्बन्ध–विच्छेदको संख्या बढेको अहिले नै हो,’ ग्लेन स्यान्डस्ट्रम भन्छन्। 

स्विडेनको युमिया विश्वविद्यालयमा जनसंख्या इतिहासका अनुसन्धाता स्यान्डस्ट्रमका अनुसार दम्पतीले अहिले भोगिरहेको आर्थिक अभावले अन्त्यमा वैवाहिक सम्बन्धको स्थायित्वमै प्रतिकूल असर पुर्‍याउँछ।

वैवाहिक सम्बन्धमा मनमुटाव ल्याउने एउटा प्रमुख कारण पैसा हो। ‘आम्दानी घट्दै जाँदा खर्च कटौती गर्नुपर्ने हुन्छ। प्राथमिकता छनोटमा मतभेद हुन्छ र त्यसले मानसिक दबाब दिन्छ। आवश्यकताको परिपूर्ति गर्ने क्रममा हुने सम्झौताले दम्पतीबीचको सौहार्द सम्बन्धमा असर पुर्‍याउँछ,’ स्यान्डस्ट्रम भन्छन्।

कोरोना महामारीले अतिथि सत्कार, मनोरञ्जन, पर्यटनजस्ता असुरक्षित क्षेत्रमा काम गर्ने तथा कम आम्दानी भएकालाई बढी असर गरेको छ। यसको मारमा पर्नेमा महिला, युवा तथा जातीय अल्पसंख्यक छन्।

बेलायतमा रहेका एसियाली तथा अफ्रिकी मूलका मानिसलाई सेवा दिने कल्चर माइन्ड थेरापी संस्थासँग आबद्ध निकिता आमिनका अनुसार महामारीका बेला दम्पती वा एक्लाएक्लै थेरापी सेवा लिनेहरुको संख्या बढेको छ।

सन् २०२१ को मध्यसम्ममा कोरोनाविरुद्धको भ्याक्सिनका कारण जनजीवन पहिलाजस्तै सामान्य होला भन्ने आस त छ तर विज्ञहरु सम्बन्ध–विच्छेदको गति नरोकिने अनुमान गर्छन्।

स्यान्डस्ट्रम आर्थिक मन्दीका कारण पनि सम्बन्ध प्रभावित भइरहने तर्क गर्छन्। ‘आर्थिक मन्दी बढ्दै गयो भने बेरोजगारीको संख्या बढ्नेछ र वैवाहिक जीवन धरापमा पर्नेछ,’ उनी भन्छन्। 

राष्ट्रहरुले अपेक्षा गरेभन्दा शीघ्र नै सन् २०२१ मा कोरोना नियन्त्रण गर्न सके भने यसविपरीत अवस्था पनि आउन सक्छ।

अधिवक्ता किन्चको तर्क के छ भने आर्थिक अवस्था सुध्रिँदै गए पनि सम्बन्ध–विच्छेदको क्रम नरोकिन सक्छ। किनभने अहिले वैवाहिक जीवनमा समस्या भोगिरहेका दम्पतीले विभिन्न व्यावहारिक समस्या थपिने  डरले छुट्टिभिन्नलाई पर धकेलेर परिस्थिति सहेर बसिरहेका हुन सक्छन्।

उनको संस्थामा अहिले पनि सम्बन्ध–विच्छेदसँग सम्बन्धित जिज्ञासा लिएर आउनेहरुको भीड लागिरहेको छ।

साइकोथेरापिस्ट नियोन बेल भन्छन्, ‘मानिसले जीवनमा के चाहेका छन् भन्ने अस्तित्वगत प्रश्नलाई महामारीले बढाइदिएको छ।’ उनका अनुसार मानिसले त्यस्ता प्रश्नहरु विवाह, जीवनको छनोट र आफ्ना भावनाका सन्दर्भमा गरिरहेका छन्।

‘महामारीको दबाबले मानिसलाई जीवन छोटो र आफ्नो अमूल्य समय कोसँग, कसरी, के गरेर बिताउने भनेर झस्काइदिएको छ’ बेल भन्छन्।

एकपटक फेरि सोफीकै सन्दर्भ। सोेफीले अहिले बहिनी र बुवाआमाको घर नजिकै नयाँ घर भाडामा लिएकी छन्। पतिसँग छुट्टिनु उनका लागि सजिलो त थिएन तर उनलाई जे भयो राम्रै भयो भन्ने विश्वास छ।

‘हामी साथीका रुपमा नै एकअर्कासँग खुसी छौं र सानातिना कुराले हामी बिनाकारण दुःखी बनिरहेका छैनौं’, उनी भन्छिन्।

(बीबीसी वर्कलाइफमा प्रकाशित म्याडी स्याभेजको यो लेख महेश्वर आचार्यले अनुवाद गरेका हुन्।)

प्रकाशित: Dec 26, 2020| 03:16 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।