काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकको मुख्य एजेन्डा संसद् विघटन हो।
सरकारले संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि मंगलबार सुरु भएको कांग्रेस बैठकमा तर्कवितर्क र बहस हुने नै भयो।
त्यसमा पनि संस्थापन र संस्थापन इतर समूहबीच कांग्रेसका भिन्नाभिन्नै एजेन्डा छन्। ती एजेन्डामा नेताहरुबीच चर्काचर्की हुन थालेको छ।
संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्ष लोकतान्त्रिक पार्टी भएकाले चुनावमै जान उपयुक्त हुन्छ भन्नेमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष संसद् विघटन असंवैधानिक भएकाले पुनर्स्थापनाका लागि आन्दोलन गर्नुपर्ने अडानमा छ।
केन्दीय कार्यसमिति बैठकमा अहिले यिनै विषयमा विवाद हुने गरेको नेताहरू बताउँछन्।
सरकारको कदमविरुद्ध आन्दोलन घोषणा गर्ने विषयमा बुधबारको बैठकमा पौडेल र देउवा पक्षका नेताहरुबीच भनाभन भएको थियो।
पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका दिन आन्दोलन गर्ने सभापति देउवाको प्रस्तावमा पौडेलले विमति जनाएपछि संस्थापन पक्षका नेताहरुले प्रतिवाद गरेका थिए। त्यसपछि पौडेल पक्षका नेताहरु पनि भनाभनमा उत्रिएका थिए।
यस क्रममा सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरु शंकर भण्डारी र गुरुराज घिमिरेबीच वादप्रतिवाद भएको थियो।
सरकारविरुद्ध १६ गते प्रदर्शन गर्ने विषयमा विवाद भएपछि बिहीबारको बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गर्यो। बिहीबारको बैठकमा प्रदर्शन मितिमा सहमति भयो। विवादको शृंखला भने रोकिएन।
बिहीबारको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह बोलिरहँदा सभापति देउवा अधीर भए। सिंहले देउवाको असफलता कारण पार्टीले विगत चुनावमा हार व्यहोरेको आरोप लगाएपछि देउवाले हिम्मत भए आफूलाई सभापति पदबाट हटाउन चुनौती दिएका थिए।
देउवाले सिंह बोल्दा मात्रै जवाफ फर्काएका थिएनन्, डा. रामशरण महत, अर्जननरसिंह केसी, बलबहादुर केसीले बोलिरहँदा समेत प्रतिवाद गरेको एक केन्द्रीय सदस्य बताउँछन्।
‘सभापति धैर्य देखिनु भएन। आफू इतरका नेताहरू बोलिरहँदा जवाफ फर्काइहाल्नुहुन्छ,’ ती नेताले भने, ‘नेतृत्व धैर्य हुनुपर्छ। तर सभापतिजीले जवाफ फर्काउनुहुन्छ र सवालजवाफ हुने गरेको छ।’
भनाभनको शृंखलाले शुक्रबारसमेत निरन्तरता पायो। शुक्रबार वरिष्ठ नेता पौडेल र रमेश लेखकबीच सवालजवाफ भयो।
नेता लेखकले सरकारको कदमकोे विरोध गर्दै निर्वाचनमा केन्द्रित हुनुपर्ने विचार राखिरहेका थिए। उनी बोलिरहँदा पौडेलले ‘नियमापत्ति! संसद् पुनर्स्थापना हुनुपर्छ’ भनेपछि सवालजवाफ चलेको एक नेताले जानकारी दिए।
‘लेखकजी बोलिरहँदा वरिष्ठ नेताले नियमात्ति भनेर रोक्नुभयो। त्यसपछि सवालजवाफ भएको हो,’ ती नेताले भने।
शुक्रबारको बैठकमा बोलेका डा. मिनेन्द्र रिजालले समेत पौडेलमाथि असन्तुष्टि पोखेका छन्। ‘रामचन्द्र दाइको बढी नै चुरीफुरी देखिएको छ,’ रिजाललाई उधृत गर्दै ती नेताले भने।
दिनहुँ चर्काचर्कीबीच चलिरहेको बैठक निर्वाचनतर्फ केन्द्रित हुन थालेको एक नेताले सुनाए।
‘आन्दोलन कि निर्वाचन भन्ने विषयमा मतभेद त छँदै छ। तर, चार दिनको बैठकलाई हेरेर पार्टी निर्वाचनतर्फ सोझिएको निष्कर्ष मैले निकालेको छु,’ उनले भने।
यद्यपि संसद् विघटनबारे सर्वोच्च अदालतमा परेको रिटको टुंगो लागिसकेको छैन।
बैठक १३ गते १६५ निर्वाचन क्षेत्रमा हुने प्रदर्शन र १६ गतेको राष्ट्रिय मेलमिलाप दिवसको तयारीका लागि भन्दै १९ गतेसम्मका लागि स्थगित भएको छ।