सोमबार, भदौ २२, २०८३

दाहाल–नेपाल समूहका तीनै नेता ओलीमाथि खनिए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेताहरु प्रधानमन्त्री तथा नेकपाको अर्को समूहका अध्यक्ष केपी ओलीमाथि खनिएका छन्।
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेताहरु प्रधानमन्त्री तथा नेकपाको अर्को समूहका अध्यक्ष केपी ओलीमाथि खनिएका छन्।

बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल तीनैजनाले ओलीको आलोचनामा नै समय खर्चिए। 

दाहालले ओलीलाई संविधानमाथि निरंकुश ढंगले प्रहार गरेको बताए। संसद् विघटनको दिन नेपालको इतिहासमा कालो दिन भएको टिप्पणी उनले गरे।  आफूले अन्तिम समयसम्म पनि ओलीलाई पर्खन र असंवैधानिक कदम नचाल्न आग्रह गर्दा पनि उनले बेइमानी गरेको बताए। दाहालले ओलीलाई जालिझेलीको संज्ञा दिए।

‌ओलीले पार्टीमा माधव नेपाल पक्षलाई पेलेर जाने रणनीति लिएको र आफू त्यसको पक्षमा नरहेको उनले बताए। उनले भने, ‘केपी ओलीले माधवजीको पक्ष जिल्ला, प्रदेश र केन्द्र कुनै तहमा पनि नआओस् भन्ने। तर त्यो पक्ष पनि बलियो भएकाले आउनुपर्छ भन्ने मेरो कुरा थियो। त्यसैले एमाले फुटाउने केपीजी हो, म होइन।’

विगतमा ओलीलाई आफूले चिन्न नसकेको भन्दै दाहालले सहमति भएका कुरा छोड्दै जानु आफ्नो भूल भएको बताए। ओलीसँग पार्टी एकताका बेला गरेको सहमति अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति छोड्नु गल्ती भएको उनको भनाइ थियो।

दाहालले सुनाए, ‘उहाँले म तीन वर्ष जेठो छु, तीन भोटा मैले बढी फटाएको छु भन्दा मैले मान्दिएँ। अर्कोपल्ट आलोपालो अध्यक्ष छोडौं र संयुक्त गरौं भन्दा पनि छोडिदिएँ। कार्यकारी अध्यक्ष हुनुस् भन्दा पाँचै वर्ष प्रधानमन्त्री हुनुस् भनेर मैले छोडिदिएँ। सधैं छोडिदिने कमजोरी गरेँ मैले।’

उक्त समूहका नवनिर्वाचित अध्यक्ष माधवकुमार नेपालले  प्रधानमन्त्री ओलीमा दास मानसिकता भएको आरोप लगाए। ‘उहाँलाई मन पर्ने भनेको केपीवाद हो। कम्युनिस्ट पार्टीमा दास कोही हुँदैन। तर उहाँ दासता मन पराउनुहुन्छ,’ उनले भने।

ओली गणतन्त्र र संघीयता विरोधी भएको दाबी नेपालले गरे। तत्कालीन एमालेमा ओलीले गणतन्त्रबारे फरक मत राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरालगायत नेताहरु साक्षी रहेको भन्दै उनले भने, ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन। गणतन्त्र विरोधी मान्छे हो उहाँ। संघीयता विरोधी मन्छे हो।’

पदमा भएको व्यक्तिमा विनम्रता चाहिने भए पनि ओली त्यसबाट च्यूत भएको आरोप उनले बताए। ‘पावरले मान्छेलाई आर्थिक रुपमा भ्रष्ट बनाउँछ वा अन्य हिसाबले अहंकारी बनाउँछ। केपी शर्मा ओली यसको जिउँदोजाग्दो उदाहरण हुनुहुन्छ,’ उनले भने।

कम्युनिस्ट विचार र सिद्धान्तबाट ओली विचलन भएको भन्दै नेता नेपालले भने, ‘नेपालमा गोर्भाचोभको जन्म त हुन लागेको त होइन ? ओली अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न लाग्नुभएको छ। कुन दिन कम्युनिसट आन्दोलन सिध्याउने हो भन्ने चिन्ता छ।’

नेता झलनाथ खनालले केपी ओलीलाई गोमन सर्पसँग तुलना गरे। उनले ओली मनमा तुष पालेर बस्‍ने नेता भएको तर्क गरे। खनालले भने, ‘ओली गोमन सर्पजस्ता रहेछन्। जहाँ देख्यो त्यही ठुङ्ने ।’ ओली इबी साँध्ने व्यक्ति भएको खनालले बताए।  महाधिवेशनमा आफूले हराएपछि ओलीले बदला लिन खोजेको खनालले आरोप लगाए।

उनले आफूहरु आधिकारिक नेकपा भएको भन्दै समूहले बालुवाटारमा गरेको बेला रुखको बोक्रामात्र भएको टिप्पणी गरे। पार्टी फुटाउन संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत बहुमत चाहिने भन्दै उनले भने, ‘अहिले संसद् भंग गरेको अवस्थामा केन्द्रीय कमिटीमा ४० प्रतिशत चाहिन्छ। त्यसैले नेकपा फुटेको छैन, चोइट्याउन खोजेको हो।’
 

प्रकाशित: Dec 25, 2020| 10:52 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।