काठमाडौं– पछिल्लो २४ घण्टामा ६०८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रायलको शुक्रबारको तथ्यांकअनुसार गत २४ घण्टामा ४ हजार १४२ पीसीआर परीक्षण गर्दा २३७ महिला र ३७१ जना पुरुषमा कोरोना पुष्टि भएको हो। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८९२ छ। हालसम्म २ लाख ४८ हजार २९२ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ छ। हालसम्म १ हजार ८१६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।