काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्।
उक्त समूहको केन्द्रीय कमिटी तथा स्थायी कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरुले नै पार्टीको नाम, चुनाव चिह्न र लोगो पाउने बताए। ‘०७५ जेठ ३ गते पार्टी एकता घोषणा गर्दा ४४१ जनाको केन्द्रीय कमिटी बनाइएको थियो। केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहितको नामावली, नागरिकता र अन्य प्रमाण आयोगमा पेश गरिएको थियो,’ दाहालले भने।
अहिले आफ्नो समूहसँग २९५ जना केन्द्रीय सदस्य रहेको बताउँदै उनले निर्वाचन आयोगले कानुनअनुसार नै मान्यता दिने विश्वास व्यक्त गरे। ‘म आफैं गएर २९५ जनाको हस्ताक्षर बुझाएको छ। केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी बहुमत भएकोले पार्टीले वैधानिक मान्यता पाउने स्वतः स्पष्ट छ,’ उनले भने।